दाङ । जेन-जी आन्दोलनको एक महिनापछि महासचिव शंकर पोखरेलको गृहजिल्लामा एमालेले प्रदर्शन गर्यो । तुलसीपुर चोकमा आयोजित कोण सभामा जेन-जी पुस्ताको नेतृत्व गर्दै ब्याचलर दोस्रो वर्षमा अध्ययनरत् रेजीना चौधरीलाई सम्बोधन गर्न दिइयो ।
भाषणका क्रममा केही शब्दमा भएको त्रुटिले उनलाई सामाजिक सञ्जालमा ट्रोलको शिकार बनाइएको छ । अहिलेसम्म कुनै फोरममा नबोलेकी उनलाई मासमा बोल्न लगाइएपछि केही हड्बडाइन ।
उनले ´जागरण सभा` भन्नुपर्नेमा ´सधारणसभा` भनिन् । त्यसैगरी ´घोर भत्सर्ना गर्दछु `भन्नुपर्नेमा ´घोर भ्रष्टाचार गर्दछु` भनिन् । जसले उनलाई समाजिक सञ्जालमा आलोचित बनायो । उनी अहिले एकप्रकारले विक्षिप्त बनेकी छन् ।
सम्पर्कमा आएकी उनले आफ्नो कारणले एमाले र उसका नेताको बदनाम भएको कि भन्ने चिन्ता लागेको सुनाइन् । आफूले बोल्न नजानेर गलत शब्द बोलेको नभई पहिलो पटक ठूलो जनमानसमा बोलेका कारण हस्तोत्साही भएर टङ स्लिप भएको रेजीनाको भनाइ छ ।
´म कार्यक्रममा कहिल्यै बोलेकी थिइनँ । नियतबस वा नजानेर होइन । पहिलो पटक भएकाले हस्तोत्साहित भएकी हुँ ।`
सामाजिक सञ्जालका आलोचनाले आफू विचलित नहुने बताइन् । आफू पनि जेनजी भएको उल्लेख गर्दै उनले जेसुकै नाममा हुने अराजकताको सधैँ विरोध गर्ने सुनाइन ।