रुपन्देही । भैरहवा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको आयोजना र प्रहरी चौकी मेउडीहवाको सहकार्यमा भएको यस कार्यक्रमको मुख्य उद्देश्य नागरिकका गुनासो सुन्ने र प्रहरी कार्यप्रतिको जवाफदेहिता प्रदर्शन गर्नु रहेको थियो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख, प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, आमा समूह, बुद्धिजीवी, पत्रकार र समाजसेवी लगायतको उत्साहजनक सहभागिता थियो।
प्रहरी निरीक्षक भरत के.सी.को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रहरी उपरीक्षक क्षेत्रीले शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण, लागुऔषध नियन्त्रण, चोरी तस्करी नियन्त्रण र सवारी दुर्घटना न्यूनीकरण सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट सम्पादन गरिएका कार्यहरूको विस्तृत जानकारी गराउनुभयो। 
कार्यक्रममा सहभागीहरूले प्रहरी कार्यसम्पादन र शान्ति सुरक्षाका विषयमा विभिन्न प्रश्न तथा गुनासोहरू राखेका थिए, जसको प्रहरी उपरीक्षक क्षेत्रीले सम्बोधन गर्नुभयो। यो कार्यक्रमले नागरिक र प्रहरीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै प्रहरी कार्यप्रतिको पारदर्शिता बढाउन मद्दत पुगेको विश्वास गरिएको छ।