पर्सा । वीरगञ्जस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा कार्यरत एक सरकारी कर्मचारीले सरकारी सवारी साधनको दुरुपयोग गर्दै लागू पदार्थ सेवन गरेको भिडियो सार्वजनिक भएपछि देशभर चर्को आलोचना सुरु भएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, वीरगञ्जका का.स. राकेश कुमार साह सरकारी नम्बर प्लेटको गाडीको छेउमा वा भित्र लागू पदार्थ सेवन गरिरहेको स्पष्ट रूपमा देखिएको छ। उक्त दृश्यले सरकारी सम्पत्तिको खुला दुरुपयोग मात्र नभई कानुन र आचारसंहिताको ठाडो उल्लङ्घन भएको भन्दै नागरिक समाजले कडा आपत्ति जनाएका छन्।
नेपाल सरकारले पटक–पटक सरकारी सवारी साधनको व्यक्तिगत प्रयोग निषेध गर्ने निर्देशन जारी गर्दै आएको छ। तर सरकारी कर्मचारीले नै सो निर्देशनको अवहेलना गर्दै लागू पदार्थ सेवनजस्तो गैरकानूनी कार्यमा संलग्न हुनुले सरकारी संयन्त्रको विश्वसनीयता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको हो।
नेपालको लागू औषध (नियन्त्रण) ऐन, २०३३ अनुसार लागू पदार्थ सेवन गर्नेलाई कानुनी कारबाही हुने व्यवस्था छ। त्यस्तै, सरकारी गाडीको गैरकानूनी प्रयोग र निजामती आचारसंहिताको उल्लङ्घन गरेको अभियोगमा विभागीय कारबाही समेत हुन सक्ने कानुनी व्यवस्था रहेको छ।