बस्तीको बीचमा रहेको आयल निगमको प्रादेशिक डिपो स्थानान्तरणको माग गर्दै स्थानीयहरुको दबाबमूलक
कैलाली । धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित डिपो स्थानान्तरणका लागि दुई वर्षदेखि काम भइरहेको भनिए पनि हालसम्म कुनै परिणाम नदेखिएपछि स्थानीयले आन्दोलनको तयारी थालेका हुन्।
टोल विकास संस्थाको अगुवाइमा डिपो स्थानान्तरणको प्रक्रिया तत्काल अघि बढाउन उनीहरुले अर्को सातादेखि चरणबद्ध रुपमा दबाब दिने तयारी गरेका छन्। केही दिनअघि उनीहरुले वडाध्यक्षको पहलमा स्थानीयको सरोकार सम्बोधन गर्न डिपो प्रमुखको ध्यानाकर्षणसमेत गराएका थिए।
डिपोसँगै जोडिएको शुभकामना टोल विकास संस्थाका अध्यक्ष दीर्घराज ओझा घनाबस्तीबीचमा रहेको डिपोका कारण सुरक्षा संवेदनशीलता बढेको उल्लेख गर्दै तत्काल डिपो सार्न निगम व्यवस्थापन गम्भीर हुनुपर्ने बताउँछन्। शुभकामना टोलमा ८७ वटा घरधुरी छन्। ती घरमा चार सयभन्दा बढी ३५० भन्दाबढी मानिसको बसोबास रहेको छ।
‘दुई वर्षअघि देखि डिपो स्थानान्तरणको प्रक्रिया अघि बढेको भनिएको छ, तर अहिलेसम्म परिणाम आएको छैन,’ अध्यक्ष ओझाले भने, ‘तत्काल डिपो स्थानान्तरण गरेर स्थानीयलाई ढुक्कसँग बसोबास र पेसा व्यवसाय गर्न सक्ने अवस्था बनाउन आन्दोलनका कार्यक्रम अघि बढाउँदै छौँ।’
चटकपुर निवासी धर्मसिंह–माधवी ऐर दम्पत्तिलाई अहिले रातमा राम्रो निद्रा पर्दैन। घरै अगाडि रहेको निगमको डिपोमा जुनसुकै बेला भवितव्य हुनसक्ने र त्यसबाट ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुपर्ने चिन्तामै बाँचिरहनुपरेको उनीहरु सुनाउँछन्।
डिपोका कारण सधैँ त्रसित अवस्थामा रहनुपरेको गुनासो गर्दै स्थानीय धर्मसिंह डिपो स्थानान्तरणका लागि पटकपटक सरोकारवालालाई आग्रह गरिए पनि कुनै सुनुवाइ नभएको बताउँछन्।
पेट्रोलियम पदार्थ भण्डारण गरिएका ठूल्ठूला ट्याङ्क नजिकै भएको र डिपोबाट इन्धन लोडअनलोड भइरहँदा घरमा आगो बाल्न पनि डराउनुपर्ने अवस्था रहेको स्थानीयको गुनासो छ। टोल विकास संस्थाका अध्यक्ष ओझा तिहारमा पटका नपट्काउन अनुरोध गर्दै हिँड्नु परेको सुनाउँछन्।
केही वर्ष पहिले जङ्गल रहेको डिपो आसपास अहिले बाक्लो बस्ती छ। धनगढी–अत्तरिया सडक खण्डमा रहेको डिपो अगाडिबाट दैनिक हजारौँ सवारीसाधन गुड्छन्। नजिकै धनगढी नेत्रालय, सिपी अस्पतालसहित अन्य स्वास्थ्य संस्था, विद्यालय र व्यापारिक भवन छन्।
‘कतिबेला के हुन्छ भन्न सकिन्न। डिपोका कारण सधैँको चिन्ता,’ टोल विकास संस्थाका अध्यक्ष ओझा भन्छन्, ‘स्थानीयले ढुक्कका साथ जीवनयापन गर्न सकेका छैनन्, घरमा आगो बाल्न पनि डराउनुपर्ने अवस्था छ।’
केही वर्षअघि डिपोको पूर्वतर्फ रहेको एक फर्निचर उद्योगमा आगलागी हुँदा कतिपय स्थानीय घरै छाडेर हिँडेका चटकपुरवासीको सम्झनामा ताजै छ। ‘डिपो नजिकको फर्निचरमा आगो लागेपछि यहाँका स्थानीयमा अब भाग्नुपर्छ भन्ने त्रास बढेको थियो,’ त्यसबेलाको त्रास सम्झदै उनले भने।
डिपोका कारण सुरक्षा चुनौती बढेको जनाउँदै धनगढी उपमहानगरपालिकाले पनि बारम्बार निगमलाई सुरक्षित स्थानमा त्यसलाई स्थानान्तरण गर्न आग्रह गर्दै आएको नगर प्रमुख गोपी हमाल बताउँछन्।
डिपोकै नजिक कक्षा १० सम्म अध्ययन हुने धनगढी प्रज्ञा सदन सञ्चालनमा छ। उक्त विद्यालयमा ४०० बढी विद्यार्थी अध्यनरत छन्। विद्यालयका प्राचार्य तीर्थराज फुलारा आफूहरू सधैँ त्रासमा रहेको र असुरक्षित महसुस गरिरहनुपरेको बताउँछन्। ‘डिपो स्थानान्तरणको योजना अघि बढेको सुनिएको छ, यो स्वागतयोग्य छ, जतिसक्दो चाँडो यो कार्यान्वयन हुनुपर्छ,’ उनले भने।