काठमाडौँ । जेनजी प्रदर्शनमा लुटिएको प्रहरीको पेस्तोल बेचबिखन भएको खुलासा भएको छ । यो प्रकरणमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धादिङ घर भएका २१ वर्षीय कृष्ण गुरुङ, स्वयम्भूस्थित भगवानपाउ बस्ने २५ वर्षीय राजन देउला, भारत घर भएका २४ वर्षीय अकवर खान, काठमाडौँ–१५ बिजेश्वरी बस्ने २६ वर्षीय सुमिन शाक्य र क्षेत्रपाटी चोकमा कपडा पसल सञ्चालन गर्ने ३८ वर्षीय प्रभात मल्ल छन् ।बानेश्वर घर भएर क्षेत्रपाटीमा कपडा पसल सञ्चालन गर्ने मल्लले हतियार खरिद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए ।
अन्य आरोपीहरूले भदौ २४ मा भएको जेनजी प्रदर्शनमा प्रहरीको पेस्तोल लुटेर बिक्री गरेका हुन् । प्रहरीले लुटिएको १ थान पेस्तोल, म्याग्जिन र १५ राउण्ड गोली बरामद गरेको छ ।काठमाडौँ–१५ स्थित ट्राफिक विट नजिक चरा पसलमा काम गर्ने कृष्ण गुरुङले पेस्तोल लुटेको र अन्य ३ जनाले बेच्न सहयोग गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आरोपीहरू विरुद्ध प्रहरी वृत्त स्वयम्भूले हातहतियार तथा खरखजाना मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।