काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता वामदेव गौतमका प्रश्नहरूलाई जवाफ दिएका छन्।
पार्टी एकता घोषणा कार्यक्रममा वामदेव गौतमले विभिन्न प्रश्न उठाएपछि अन्त्यमा सम्बोधन गर्दै प्रचण्डले ती प्रश्नहरूको जवाफ दिएका हुन्।
प्रचण्डले वामदेवको प्रस्तुतिलाई विचारउत्तेजक शैलीमा भएको टिप्पणी गर्दै भने, “उहाँले अलि विचारउत्तेजक ढंगले विषय राख्नुभयो।”
वामदेवले ‘समाजवाद के हो?’ भन्ने प्रसङ्ग उठाउँदै एमालेसँगको एकताको क्षण सम्झन आग्रह गरेका थिए। उनले भने, “एमालेसँग एकता गर्दाको क्षण सम्झनुस्, केका लागि गरेका थियौं।”
त्यसै सन्दर्भमा प्रचण्डले समाजवादबारे वामदेवले लेखेको पुस्तक अध्ययन गरिरहेको बताए। साथै, एकतापछि बन्ने पार्टीको दिशाबारे जिम्मेवारी केवल दुई नेतामा मात्र सीमित नभई सबै नेताको हुने भन्दै भने, “के गर्छौं भनेर हामीलाई मात्रै होइन, तपाईं पनि नेता हो, तपाईं के गर्नुहुन्छ?”
गौतमले पार्टीको आर्थिक स्वावलम्बनका लागि कार्यकर्तालाई उत्पादनमा सहभागी गराउनुपर्ने सुझाव दिएका थिए। त्यसको जवाफमा प्रचण्डले हास्यात्मक ढंगमा भने, “उत्पादनको जिम्मा उहाँलाई नै दिनुपर्छ कि भनेर सोचेको छु।”
अन्त्यमा, प्रचण्डले वामदेवले समाजवादबारे लेखेको पुस्तकमा उल्लिखित दृष्टिकोणअनुसार वातावरण निर्माण गर्न आफू तयार रहेको पनि बताए।