०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

(आईजीपी) खापुङको प्रश्न : गोली नचलाउँदा पनि प्रहरी दोषी,चलाए पनि बयान दिँदै हिँड्नुपर्ने बाध्यता?

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, कार्तिक २१, २०८२

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले जेनजी आन्दोलनसम्बन्धी छानबिन आयोगले प्रहरीसँग बयान लिएकोप्रति आपत्ति जनाएका छन् ।

इमेज टेलिभिजनमा दिएको अन्तर्वार्ताका क्रममा आईजीपी खापुङले पानी समेत नपिएर ड्युटीमा खटिएको प्रहरीलाई नै दोषी देखाउन खोजिएको भन्दै असन्तुष्टी जनाएका हुन् ।

आईजीपी खापुङले भदौ २३ गते गोली चलाउने परिस्थितिमा पनि प्रहरीलाई नै दोषी देख्ने र भोलिपल्ट गोली नचलाउँदा पनि प्रहरीमाथि नै प्रश्न उठाइएकोमा चित्त दुःखाएका छन् । उनले भदौ २३ मा गोली चलाउने आदेश तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले नदिएको र कानुनमा समेत त्यो व्यवस्था नरहेको स्पष्ट पारे ।

संसद भवन फोडेर भित्र छिर्दै आगजनी गर्न थालेपछि बाध्य भएर गोली चलाउनुपरेको भन्दै खापुङले केही नगर्दा पनि हतियार प्रयोग नगरेबापत छानबिन हुने र केही गर्दा पनि छानबिन हुने कुराले नीतिगत स्पष्टताको आवश्यकता रहेको  बताए ।

खापुङले संसद भवन, सिंहदरबारजस्ता ‘भाइटल सरकारी संरचना’ जोगाउन विशेष फोर्स रहने र उनीहरूलाई गोली चलाउने अधिकार रहेको भन्दै त्यस आधारमा कारबाही गर्ने हो भने प्रहरी संरचना नै राज्यले नराखे हुने प्रष्ट पारेका छन् । भदौ २३ मा पनि न्यून बल प्रयोग गर्न तत्कालीन सरकारले निर्देशन दिएको र २ हजार गोली चल्दा पनि न्यूनतम मानवीय क्षति भएको आईजीपीले बताए ।

उनले भदौ २३ र २४ को घटनामा प्रहरीलाई दोहोरो मारमा पार्न खोजिएको बताए ।

आन्दोलनकारीले निहत्था प्रहरीलाई कुटेर, घिसारेर, घोचेर मार्दा पनि उल्टै प्रहरीमाथि नै प्रश्न उठाउने प्रवृतिले समाज सुरक्षित नहुने आईजीपीले बताएका छन् । उनले विध्वंस हुँदा प्रहरीले बल प्रयोग गर्न नपाउने हो भने संगठन नै नचाहिने प्रष्ट पारेका छन् । यस्तो बेलामा उल्टै प्रहरीलाई बयानमा बोलाउने कुरामा पनि उनले असन्तुष्टि जनाएका छन् ।

खापुङले भने, ‘कानून बमोजिम कामकारबाही गर्दा पुलिसलाई किन छानबिनको दायरमा ल्याइन्छ ? आज मेरा प्रहरीले पानी खान नपाएर पनि काम गरिरहेका छ, राज्यप्रतिको जिम्मेवारीमा प्रहरी हिजो पनि आज पनि प्रतिबद्ध छ । कहिलेकहिँ लाग्छ ती सिपाहीको आवाज कसले बोल्ने ? जुन प्रहरीले पानी नखाई, भोकभोकै लडेको छ उसैले आज बयानको लागि धाइराख्ने परिस्थिति आउँछ भने कसले बोल्ने ? आईजीपीले बोल्नुपर्‍यो नि ।’

गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलन छानबिन समितिले आईजीपी खापुङलाई हालै बयानका लागि बोलाएको थियो ।

छानबिन समितिले आन्दोलनमा खटिएका प्रहरीको विवरण माग गरेपनि दिन अस्वीकार गर्दै आएका आईजीपीमाथि नै कारबाही गर्ने चेतावनी छानबिन समितिले दिएपछि प्रहरीले उक्त विवरण दिएको छ ।

हाल आन्दोलनमा खटिने प्रहरीसँग आयोगले बयान लिइरहेको सन्दर्भमा आईजीपी खापुङले यस्तो आक्रोश व्यक्त गरेका हुन् ।

आईजीपी खापुङले राजनीतिक आन्दोलनको कुरा र लुटपाट तथा आगजनीलाई छुट्याएर हेरिनुपर्ने बताए । खापुङले सर्वोच्च अदालत, संसद भवन, सिंहदरबार आगजनी गर्नेलाई राजनीतिक भन्ने कि अपराध भन्ने भनेर पहिले प्रष्ट हुनुपर्ने समेत बताएका छन् ।

राजनीतिक आन्दोलनका क्रममा व्यक्तिगत सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट हुने घटनाले नेपालमा आतंकवादलाई प्रश्रय दिने बताए ।

उनले नेपालीको दिमागमा सोसल मिडियाबाट बिध्वंशको बारुद भर्ने प्रवृत्तिले देश ठूलो दुर्घटनातर्फ जाने चेतावनी समेत दिएका छन् ।

खापुङले भने, ‘यस्तो प्रदर्शनहरूमा, राजनीतिक आन्दोलनको क्रममा व्यक्तिको निजी सम्पत्तिमा प्रहार हुनु भनेको आतंकवादको नमूना हो । निजी सम्पत्तिहरूमा गरिने आक्रमण आतंकवादको अभ्यास हो कि भन्ने महसुस हुन्छ । जब तपाईँको घर सरक्षित छैन, मेरो घर सुरक्षित छैन भने आतंकवादको सुरूआत हो । यो क्रम रेगुलर रहने हो भने के होला ?’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

काठमाडौं । प्रहरीको माइकबाट भन्दा TikTok स्टारको 15 सेकेन्डको रिलबाट युवाले बढी सिक्छन्। त्यही फर्मुला प्रयोग गरेर आजको भेटघाटले ट्राफिक सचेतनालाई “बोरिङ लेक्चरबाट “ट्रेन्डमा बदलिदियो। *किन प्रभावकारी हुन्छ त यो पहल?* 1. *भाषा उनीहरूको हुन्छ*:हेल्मेट लगाऊ” भन्दा “हेल्मेट नलगाई रिल्स बनाउँदा लास्ट सिन हुन सक्छ ब्रो” भन्दा गहिरो छाप पर्छ। 2. *पहुँच टाढासम्म*: प्रहरीको कार्यक्रम […]

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

error: Content is protected !!