ओखलढुंगा । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले जस्तोसुकै विषम् परिस्थितिमा पनि अग्रपङ्क्तिमा रही उच्च मनोवलका साथ नागरिकको सेवा र सुरक्षामा खटिन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण भ्रमणका क्रममा उनले त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिएका हुन् ।
निर्देशनको क्रममा उनले सम्पूर्ण प्रहरी कर्मचारीहरुले आफ्नो पदीय जिम्मेवारी, आदेश निर्देशनको अक्षरश: पालना गरी वर्तमान समयसापेक्ष प्रविधिको प्रयोग गरी समाजमा शान्ति सुरक्षा कायम राख्न, सार्वजनिक सम्पत्तिको रक्षा गर्दै नागरिकमा प्रहरी सेवाको पहुँच सरल र सुलभ तवरले पुर्याउन तथा ग्रामीण बस्तीहरुमा लामो तथा छोटो दूरीको गस्ती परिचालन गरी समुदायसंग सहकार्य गर्दै भेटघाट र सूचनाको आदान प्रदानलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
समाजमा घट्ने विभिन्न प्रकारका अपराधका घटनाहरुलाई निरुत्साहित गर्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न पनि डीआईजी कार्कीले निर्देशन दिएका छन् । सीमित स्रोत साधनका बावजुद पनि ओखलढुंगामा शान्ति सुरक्षा प्रभावकारी बनाई नागरिकहरुमा विश्वासिलो प्रहरी सेवा पुर्याउँदै आएकोमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई उनले धन्यवादसमेत दिए ।
निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रमुख प्रहरी उपरीक्षक रुकेश तण्डुकार समेतको उपस्थिति थियो ।