११ कार्तिक २०८३, मंगलबार
27-10-2026 , Tue
×

चर्को गर्मीमा विद्युत् आपूर्ति तत्काल सुधार गर्न ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको कडा निर्देशन,

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, आषाढ २३, २०८३

बाँके । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पश्चिम नेपालका बाँके, बर्दिया, रोल्पा, दाङ, प्युठानलगायत जिल्लाको विद्युत् आपूर्ति, वितरण र देखिएका समस्याबारे जानकारी लिनुका साथै सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका छन् ।

मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको लुम्बिनी प्रदेश डिभिजन कार्यालयमा पुगेर विद्युत् आपूर्ति तथा वितरणको अवस्थाबारे विस्तृत जानकारी लिनुका साथै अन्तरक्रिया गरेका हुन् ।

डिभिजन कार्यालय प्रमुख, प्रदेश कार्यालय प्रमुख तथा नेपालगञ्ज वितरण केन्द्र प्रमुखबाट जानकारी लिएपछि उनले यस क्षेत्रमा धेरै पुराना संरचनामार्फत विद्युत् वितरण भइरहेका कारण विद्युत् आपूर्तिमा पटक–पटक समस्या दोहोरिने गरेको पाइएको बताउँदै आगामी आर्थिक वर्षमै वितरण प्रणालीको स्तरोन्नति तथा सुदृढीकरणका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री श्रेष्ठले वितरण प्रणालीमा लामो समयदेखि अपेक्षित स्तरोन्नति हुन नसक्दा संरचनागत तथा प्राविधिक समस्या बढ्दै गएको उल्लेख गर्दै सातौँ विद्युतीकरण आयोजनाअन्तर्गत सन् १९९० पछि वितरण सञ्जालमा उल्लेखनीय सुधार हुन नसकेको बताए ।

उनले भने, ‘विद्युत् माग वार्षिकरूपमा करिब १५ प्रतिशतका दरले बढिरहेकाले पुरानो संरचनाबाट बढ्दो लोड व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ। कोहलपुर राष्ट्रिय ग्रिड तथा टनकपुर आपूर्तिको अन्तिम बिन्दुमा रहेको वितरण प्रणाली, स्विचिङ प्रणालीका चुनौती, नजिकै उत्पादन केन्द्रको अभावका कारण देखिने न्यून भोल्टेज तथा निर्माणाधीन न्यू नेपालगञ्ज सबस्टेशन समयमै सञ्चालनमा आउन नसक्दा विद्युत् आपूर्तिको गुणस्तरमा प्रत्यक्ष असर परेको रहेछ।’

फिडर ओभरलोड, पटक–पटक हुने ट्रिपिङ तथा पुराना वितरण संरचनाका कारण उपभोक्ताले अपेक्षा गरेअनुसारको सेवा दिन नसकिएको उनले बताए ।

अन्तरक्रिया तथा छलफलका क्रममा मन्त्री श्रेष्ठले आगामी गर्मीयामअघि निर्माणाधीन न्यू नेपालगन्ज सबस्टेशन सञ्चालनमा ल्याउन आवश्यक समन्वय र सहजीकरण गर्न निर्देशन दिँदै नेपालगञ्जमा आवश्यक क्षमताका थप ट्रान्सफर्मर उपलब्ध गराइने जानकारी दिए ।

उनले वितरण सञ्जालको क्षमता अभिवृद्धि, पुराना लाइन तथा कन्डक्टरको स्तरोन्नति, आवश्यक स्थानमा नयाँ फिडर विस्तार तथा लोड व्यवस्थापनका कार्यलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयका प्रमुख मनोज यादव, लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख दीपक गौतम तथा नेपालगन्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रले विद्युत् आपूर्ति र वितरणको वर्तमान अवस्था तथा देखिएका समस्याबारे मन्त्रीलाई जानकारी गराएका थिए ।

सोही कार्यक्रममा स्थानीयवासीले पनि विद्युत् वितरणमा देखिएका समस्याबारे मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्ज सशस्त्र प्रहरी बल, ३० नं. गण हेडक्वाटर बागेश्वरी बाँकेले भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याइएका लाखौं मूल्य बराबरको कपडाहरु बरामद गरेको छ। गस्तीमा खटिएको ३० नम्बर गणको प्रहरीको टोलीले ठूलो परिमाणमा तस्करी गरी ल्याउँदै गरेको अवस्थामा उक्त कपडाहरु पक्राउ गरेको हो। बरामद गरिएका कपडाहरु आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाउने […]

घोराही बनाउँ अभियानद्वारा घोराहीमा सञ्चारकर्मीसँग अन्तरसंवाद गर्दै, विकासका मुद्दामा सञ्चार क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता दाङ । घोराहीको समृद्धि, विकास र सुशासन प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउने उद्देश्यले घोराही बनाऔँ अभियानले ‘समृद्धि, विकास र सुशासनका लागि सञ्चार’ विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने भएको छ। २०८३ कार्तिक ११ गते बुधबार बिहान १२ बजे नेपाल पत्रकार महासङ्घ […]

बाँके । बैजनाथ जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चौथो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत बैजनाथ गाउँपालिका-१, चिसापानीमा चिसापानी ट्राफिक प्रहरीको समन्वयमा जेब्रा क्रसिङ निर्माण कार्य सम्पन्न गरिएको हो। सडक सुरक्षा प्रवर्द्धन, पैदलयात्रीहरुको सुरक्षित आवागमन तथा ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बैजनाथ जेसीजले जनाएको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने चिसापानी […]