भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर सर्वसाधारणसँग रकम असुल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१३ घर भई हाल ओमसतिया गाउँपालिका–४ बालापुरमा बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणा रहेका छन् । सिद्धार्थनगर–१३ शान्तिनगर र भैरहवा बजार क्षेत्रमा पेस्तोल देखाएर सर्वसाधारणसँग १० हजार रुपैयाँ मागिरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी निरीक्षकको टोलीले उनलाई पक्राउ गरेको हो ।
राणाको शरीर तथा डेरा कोठा खानतलासी गर्दा नक्कली रिभल्भर एक थान, ५०० ग्राम गाँजा, सवारी चालक अनुमतिपत्र, मोबाइल एक थान र नगद दुई हजार छ सय रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले जानकारी दिनुभयो । बरामद सामग्रीसहित पक्राउ परेका राणामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।