११ कार्तिक २०८३, मंगलबार
27-10-2026 , Tue
×

नेपालगञ्जमा पुनःनिर्मित स्वर्गीय राजा बिरेन्द्र लगायतका ऐतिहासिक शालिकहरूको अनावरण

Logo
Abc Sanchar प्रकाशित आइतबार, साउन १०, २०८३

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले देश, समाज तथा लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका तथा जनआन्दोलनका क्रममा सहादत प्राप्त गरेका राष्ट्रिय व्यक्तित्वहरूको सम्मानस्वरूप पुनःनिर्माण गरिएका ऐतिहासिक सालिकहरूको एक कार्यक्रमबीच अनावरण गरेको छ ।

नगर प्रमुख प्रशान्त विष्टले बिहान विभिन्न स्थानमा स्थापित ६ वटा सालिकको अनावरण गरेका हुन् । संविधान पिता, नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको अर्ध कदको नयाँ सालिक निर्माण गरिएको हो भने अन्य क्षतिग्रस्त पुराना सालिकहरूको पुनःनिर्माण तथा मर्मत गरिएको छ । यस सम्पूर्ण परियोजनामा करिब ७८ लाख रुपैयाँ खर्च भएको उपमहानगरपालिकाले जनाएको छ ।

नेपालमा संविधानसभाबाट संविधान जारी हुँदा प्रधानमन्त्री रहेका नेपालगञ्जका स्वर्गीय कोइरालाको अर्ध कदको सालिक करिब २३ लाख रुपैयाँको लागतमा ट्राफिक चोक नजिक रहेको उद्यानमा निर्माण गरिएको छ ।

त्यसैगरी, गणेशमान चोकस्थित नेपाली कांग्रेसका नेता तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर स्वर्गीय गणेशमान सिंहको पूर्ण कदको सालिक ३ लाख ३१ हजार रुपैयाँको लागतमा मर्मत गरी पुनःस्थापना गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाका अनुसार नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (वीपी) कोइरालाको पूर्ण कदको सालिक ९ लाख ७५ हजार रुपैयाँको लागतमा पुनःनिर्माण गरिएको हो ।

यस्तै, धम्बोझी चोकस्थित स्वर्गीय राजा वीरेन्द्र वीर विक्रम शाहको पूर्ण कदको सालिक ९ लाख ८२ हजार रुपैयाँमा निर्माण सम्पन्न गरिएको छ भने पुष्पलाल चोकस्थित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक स्वर्गीय पुष्पलाल श्रेष्ठको सालिक ९ लाख ८७ हजार रुपैयाँको लागतमा पुनःनिर्माण गरिएको छ ।

यसैगरी, न्युरोडस्थित सहिद सेतु विकको अर्ध कदको सालिक ४ लाख ८३ हजार रुपैयाँको लागतमा पुनःनिर्माण गरिएको छ । विकले २०६२/६३ को जनआन्दोलनमा सोही ठाउँमा सहादत प्राप्त गरेकी थिइन् ।

उपमहानगरपालिकाका अनुसार गणेशमान सिंहको सालिक मर्मत गरिएको हो भने अन्य सबै सालिक नयाँ निर्माण गरिएका हुन् । कोइरालाको सालिक रहेको उद्यान बाहेक अन्य सबै सालिक अवस्थित चोकहरूको सौन्दर्यीकरणका लागि थप १८ लाख रुपैयाँ खर्च गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिए ।

सुशील कोइराला र राजा वीरेन्द्रको सालिक बाहेक अन्य सालिक भदौ २३ र २४ गते भएको ‘जेनजी’ विद्रोहका क्रममा क्षतिग्रस्त भएका थिए । राजा वीरेन्द्रको सालिक भने दोस्रो जनआन्दोलनका क्रममा हटाइएको थियो ।

सालिक अनावरण कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सबै सालिक अनावरण पश्चात् संक्षिप्त प्रतिक्रिया दिँदै नगर प्रमुख विष्टले लामो समयदेखि पुनःस्थापना हुन बाँकी रहेका तथा विभिन्न आन्दोलनका क्रममा क्षतिग्रस्त भएका ऐतिहासिक सालिकहरू क्रमशः पुनःस्थापना गरी अनावरण गरिएको बताए ।

उनले इतिहास, संस्कृति र समाजका विभिन्न कालखण्डसँग जोडिएका व्यक्तित्वहरूको सम्मान गर्नुका साथै सार्वजनिक सम्पदाको संरक्षण गर्नु उपमहानगरपालिकाको प्रमुख दायित्व भएको उल्लेख गरे ।

‘इतिहास हाम्रो साझा सम्पत्ति हो । यसलाई संरक्षण गर्नु नेपालगञ्ज उपमहानगरपालिकाको दायित्व र कर्तव्य हो,’ नगर प्रमुख विष्टले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्ज सशस्त्र प्रहरी बल, ३० नं. गण हेडक्वाटर बागेश्वरी बाँकेले भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याइएका लाखौं मूल्य बराबरको कपडाहरु बरामद गरेको छ। गस्तीमा खटिएको ३० नम्बर गणको प्रहरीको टोलीले ठूलो परिमाणमा तस्करी गरी ल्याउँदै गरेको अवस्थामा उक्त कपडाहरु पक्राउ गरेको हो। बरामद गरिएका कपडाहरु आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाउने […]

घोराही बनाउँ अभियानद्वारा घोराहीमा सञ्चारकर्मीसँग अन्तरसंवाद गर्दै, विकासका मुद्दामा सञ्चार क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता दाङ । घोराहीको समृद्धि, विकास र सुशासन प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउने उद्देश्यले घोराही बनाऔँ अभियानले ‘समृद्धि, विकास र सुशासनका लागि सञ्चार’ विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने भएको छ। २०८३ कार्तिक ११ गते बुधबार बिहान १२ बजे नेपाल पत्रकार महासङ्घ […]

बाँके । बैजनाथ जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चौथो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत बैजनाथ गाउँपालिका-१, चिसापानीमा चिसापानी ट्राफिक प्रहरीको समन्वयमा जेब्रा क्रसिङ निर्माण कार्य सम्पन्न गरिएको हो। सडक सुरक्षा प्रवर्द्धन, पैदलयात्रीहरुको सुरक्षित आवागमन तथा ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बैजनाथ जेसीजले जनाएको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने चिसापानी […]