सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा राति भएको हिंसात्मक झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको मृत्यु तथा थप १० जना गम्भीर घाइते भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ।
बोलबम जाने तयारी भइरहेका बेला डिजे बाजा बजाउने विषयमा दुई समुदायबीच भएको विवादले उग्र रूप लिएपछि हिंसात्मक झडप भएको थियो। त्यसपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएपछि उत्पन्न तनाव थप चर्कियो । प्रशासनले लगाएको कफ्र्यु आदेश उल्लंघन गर्दै स्थानीयले प्रदर्शन र तोडफोड गर्न थालेपछि सेना परिचालन गरिएको छ ।
गोली लागेर कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले बिहान ७ बजेदेखि देवानगञ्ज र आसपासका पालिकामा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ । तर, आक्रोशित स्थानीयले कफ्र्यु उल्लंघन गर्दै प्रदर्शन र तोडफोड जारी राखेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले अवस्था नियन्त्रण गर्न नसकेको भन्दै नेपाली सेना परिचालन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताएका छन्।
घटनामा गोली लागेर घाइते भएका सर्वसाधारणको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मिथलेश यादव, अमलेश मेहता, मिथलेश मेहता, हरेराम यादव र जयप्रकाश मेहताको न्युरो अस्पतालमा उपचार भइरहेको छ। जयप्रकाश मेहताको पेटमा लागेको गोलीको शल्यक्रिया गरिएको छ। मिथलेश यादवको पेटको बायाँ भाग, अमलेश मेहताको ढाड र गर्दन, मिथलेश मेहताको पेटको बायाँ भाग तथा हरेराम यादवको देब्रे तिघ्रामा गोली लागेको छ।
त्यस्तै, रविन्द्र मेहता, अमितकुमार यादव, सुनीलकुमार मेहता र सुनील मेहताको विराट नर्सिङ होममा उपचार भइरहेको छ। रविन्द्र मेहताको देब्रे तिघ्रामा गोली लागेकाले उनलाई आईसीयूमा राखिएको छ। अमितकुमार यादवको कम्मरमा, सुनीलकुमार मेहताको बायाँ पाखुरामा र सुनील मेहताको देब्रे पिँडुलामा गोली लागेको छ।
यस्तै, अमित यादवको नोबेल अस्पतालमा उपचार भइरहेको छ। उनको पेट र देब्रे हातमा गोली लागेको छ। उनलाई पनि आईसीयूमा राखिएको छ। घटनामा घाइते हुनेको संख्या २२ पुगेको छ। सुरक्षाकर्मीतर्फ इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी निरीक्षक राकेश राईसहित १३ जना घाइते भएका छन्।
हिंसात्मक झडपमा उत्रिएको भीडले प्रहरीमाथि समेत आक्रमण गरेपछि बाध्य भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले स्थिति नियन्त्रणमा लिन हवाई फायरसहित गोली चलाएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले बताएका छन्।
नेपाल–भारत सीमासँग नजिक रहेको कप्तानगञ्ज क्षेत्रमा यसअघि पनि हिन्दू र मुस्लिम समुदायबीच बेला–बेलामा विवाद र झडप हुने गरेको स्थानीयले बताएका छन्।