सिराहा । नसरीको देवानगञ्ज (कप्तानगञ्ज) मा भएको दुःखद घटनालाई लिएर सिरहाको लहान बजार क्षेत्रमा पनि प्रदर्शन र तनाव उत्पन्न भएको छ ।
बिहीबार दिउँसो आन्दोलनकारी र सुरक्षाकर्मीबिच झडपको स्थिति सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाई फायर गरेको छ।
सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार प्रदर्शनकारीले हिंसात्मक रूप लिन खोजेपछि सुरक्षाको दृष्टिकोणले स्थिति नियन्त्रण बाहिर नजाओस् भनी हवाई फायर गर्नुपरेको हो । घटनालगत्तै लहान बजार क्षेत्रको शान्ति–सुरक्षा चुस्त बनाउन व्यापक मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको छ ।
लहानको अवस्था थप बिग्रन नदिन स्थानीय प्रशासनले बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गर्ने अन्तिम तयारी गरिरहेको छ । यसअघि नै सिरहाकै गोलबजार क्षेत्रमा बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु लागू भइसकेको छ ।