काठमाडौं । नेपाल प्रहरीले सातै प्रदेशका प्रहरी प्रमुख (डीआईजी) हरूलाई प्रधान कार्यालय नक्सालमा बोलाएको छ।
प्रहरी संगठनको उच्चस्तरीय समन्वय तथा नीतिगत छलफलका लागि आज दिउँसो बस्ने प्रहरी समन्वय समिति (PCC) को बैठकमा सहभागी हुन उनीहरूलाई बोलाइएको हो।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सबै प्रदेशका डीआईजीहरूलाई आज मध्याह्न १२ बजेदेखि साढे १२ बजेभित्र प्रधान कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको थियो। सोही निर्देशन अनुसार प्रदेश प्रहरी प्रमुखहरू काठमाडौं आउने क्रम जारी छ।
निर्धारित कार्यतालिकाअनुसार आज दिउँसो
२ बजे प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको अध्यक्षतामा PCC बैठक बस्नेछ।
बैठकमा सातै प्रदेशको शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन, संगठनको आन्तरिक व्यवस्थापन र समसामयिक सुरक्षा चुनौतीका विषयमा छलफल हुने बताइएको छ।
केन्द्र र प्रदेश प्रहरीबीच प्रभावकारी समन्वय कायम गर्दै सुरक्षा व्यवस्थालाई थप व्यवस्थित बनाउने विषय बैठकको प्रमुख एजेन्डा हुने प्रहरी स्रोतको भनाइ छ।
पछिल्लो समय अपराध नियन्त्रण, अनुसन्धानलाई प्रभावकारी बनाउने र प्रहरी सेवा प्रवाहलाई चुस्त बनाउने विषय प्रहरीको प्राथमिकतामा छन्। यसै सन्दर्भमा सातै प्रदेशका प्रमुखको सहभागितामा हुने यो बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।