दाङ । सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात प्रवर्द्धन गर्ने उद्देश्यले दाङको राप्ती गाउँपालिकामा चालक तथा सहचालकहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ।
समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत २०८३ कात्तिक २१ गते राप्ती गाउँपालिका–८, सिसहनियामा इलाका प्रहरी कार्यालय सिसहनिया र अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीको संयुक्त आयोजना तथा राप्ती गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा १८० जना चालक तथा सहचालकको रक्तचाप, मधुमेह, बीएमआई (BMI) तथा रङ पहिचान क्षमता (Color Vision) लगायतका स्वास्थ्य परीक्षण गरिएको थियो।
त्यस्तै, ७९ जनाको एचआईभी (HIV) परीक्षणसमेत गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको आयोजकले जनाएको छ।
चालक तथा सहचालकको स्वास्थ्य अवस्थाबारे समयमै जानकारी गराई उनीहरूलाई जिम्मेवार र सचेत बनाउँदै सुरक्षित यातायात सेवा प्रवाह तथा सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।