शोभा पाठक नेपालको सँसारभर पृथक परिचय छ । कहिले कसैको पराधीन नभएको देशको सामरिक महत्व छ । भारत र चीन जस्ता विशाल र शक्शिाली देशको बीचमा अवस्थित हुनु अवसर र चुनौती दुवै हो ।
नेपालको हजारौ वर्षको ईतिहास छ । सत्य, त्रेता, द्वापर र कली चारै युग ब्यहोरेको सप्त ऋषीहरुको जन्मभूमी र तपोभूमिको साथै चारै वेदसमेतको उद्गमस्थल अनि तेत्तिसकोटी देवीदेवताहरुको निवासस्था हो नेपाल ।, तारणहार बिष्णु भगवानको नवौं अवतार शान्तिका दुत गौतम बुद्धको जन्मस्थलसहितको वैदिक सनातन हिन्दुसंकार बोकेको देवाधिदेव महादेब श्री पशुपतिनाथले संरक्षित देश हो नेपाल। हिमवत खण्ड्को ऋषिमुनिहरुको तपोभूमी हो । उप स्वतन्त्र देश प्राचिनकाल देखिनै धार्मिक आस्था र एकताको धरोघर रहदै आएको छ।
हिन्दुराज्य नेपाल जहिलेपनि हाम्रो आस्थाको केन्द्र रहँदै आएको छ। हाम्रा परम्परा, संस्कृति र धर्म हाम्रो पहिचान पनि हो । तर, बिगत एक दशकदेखि अनेक बहानामा हाम्रो धर्ममाथि हर तरहबाट चौतर्फी आक्रमण हुँदै आएको छ। हामीले हाम्रो धर्म र संस्कृतिमाथि भइरहेको आक्रमणलाई बेवास्ता गर्दा निकै चुनौतीको सामना गर्नुपर्ने खतरा बढेको छ । भनिन्छ कुनैपनि समाज ध्वस्त पार्न त्यस देशको धर्म संस्कृतिमाथि आक्रमण गरिन्छ । नेपालमा अहिले त्यही भइआएको छ । समयमै यसको समाधान भएन भने कुनैदिन यो महान हिन्दुराज्य हिन्दुबिहीान हुन समय लाग्दैन् । जुन गतिमा हिन्दु धर्ममाथि हमला भइरहेको छ यसले गम्भीर दुर्घटना नआउला भन्न सकिन्न् ।
अहिले देशमा जे जस्ता घटना भइरहेको छ यो नेपाल र नेपालीका लागि पक्कै पनि शुभ होइन । सरकारका कतिपय काम राम्रा भएपनि धर्म संस्कृति रक्षार्थ भएको बेवास्ताप्रति प्रश्न उठाउनैपर्छ । यो विषयमा गहिरो बहसको जरुरी छ । खोला तर्यो लौरो बिर्सियो भने हित गर्दैन । खोला फेरि फेरि तर्नुपर्छ । हामी जुन सामाजिक संस्कार र धर्मको जगमा उभियौं त्यसैलाई भत्काउन लागिपरिरहेको देखिदैछ । यो कालिदासको आफू बसेको रुखको हाँगा काट्ने मुख्र्याई भन्न सकिन्छ । यो संकटबाट बचाउने अभियान नचलेको होइन । यो अभियान सफल हुनुमै देश र जनताको हित छ ।
नेपालमा हिन्दूराष्ट्रको विषय बहसमा आइसकेको छ । मुख्य राजनीतिक दलहरुभित्र यो बहस जोडतोडले उठ्दै गएको छ । सनातन धर्म संस्कृतिको चाहना र आवश्यकताको औचित्य झन् पुष्टि हुँदै गएको छ । जसले सनातन धर्म संस्कृतिलाई बचाउँछ उसैले देशलाई पनि बचाउनेछ । यो निकै चुनौतीपूर्ण छ तर असम्भव होइन । धर्मको रक्षार्थ काँधमा काँध मिलाई साँगठनिक रूपमा एकजुट हुन जरुरी देखिएको छ । जसले हामीलाई मार्गदर्शनसहित एकजुट गर्ने छ ।
अहिलेको प्रश्न कुन दल या नेता सत्तामा रहने या नरहने होइन । कुनै व्यक्ति विशेष राजा या राष्ट्रपति हुनुपर्छ भन्ने विषय पनि सबथोक होइन । अहिलेको प्रश्न सनातन संस्कृतिक बचाउनु हो । कुनैपनि समाज संस्कृति र संकारको जगमा उभिएको हुन्छ । हामी त्यही जगको रक्षा गर्ने कि नगर्ने ? यो प्रश्न ज्वलन्त बनेको छ । हाम्रा पुर्खाहरूको सनातन धर्मलाई प्रेम र जगेर्ना गर्ने अवस्था ल्याउनु महत्वपूर्ण भइसकेको छ । देशमा धर्म प्रचारको नाममा गरिने अनेक गैरकानूनी गतिविधि र प्रलोभनलाई रोक्न सक्ने सरकार निरिह बनेको छ । भुकम्पको नाममा मात्र नभई कोरोना भगाउने नाममा समेत धर्मको प्रचार भएको खबरहरु तथ्यसहित बाहिर आए ।
हामी अझै पशुपतिनाथलाई आस्थाको धरोहर मान्छौं । आपत विपत पर्दा पशुपतिनाथलाई सम्झन्छौं । पशुपतिनाथबाट कल्याण चाहन्छौं । यो हाम्रो धर्मप्रतिको आस्था हो । यो नेपाल र नेपाली जनताको लागि आशिष हो । हामी बलिया देशहरुको बीचमा रहेर पनि पृथक पहिचानसाथ बलियो साथ रहनुमा सनातन धर्मको शक्ति पनि हो । हिन्दु र बौद्ध धर्मका आस्थावान दक्षिण र उत्तर तर्फका नागरिकहरु नेपाललाई पवित्र तीर्थस्थल या देवभुमि मान्छन् ।
नेपाल अनेकन देवस्थल र तीर्थस्थलको भुमी हो । यहाँको मार्ग हुँदै हिमालयका तीर्थस्थलसम्मको यात्राको मार्ग हजारौं वर्ष देखि चल्दै आएको छ । जसमा लिपुलेक भएर भारतीय तीर्थयात्री मानसरोवर जाने पनि पर्दछ । अहिले यही मार्ग भारतले खोलेको छ । जसका कारण उत्पन्न परिस्थितिका कारण नेपाल देशको नयाँ नक्शा जारी गर्न वाध्य भएको छ । देशको नयाँ नक्शा जारी भएको छ तर उक्त भुमिबाट भारतीय सैनिक हट्ने नहट्ने विषय गम्भीर छ । नक्शा बनाउनु मात्र ठुलो उपलब्धि होइन नक्शा आफ्नो अधिकार स्थापित गर्नु ठुलो विषय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीज्यु जनतालाई नक्शा देखाएर दंग पार्ने मात्र होइन भुमि ल्याएर देखाउनुपर्छ । तबमात्र तपाईं सच्च देशभक्त ठहरिनुहुनेछ । नत्र तपाईको देशभक्ति पानीको भोका जस्तै हुनेछ ।
अहिले भारतसँग नेपालको कुटनीतिक संकट बढिसकेको छ । जतिसुकै सम्बन्धमा चीसो आउँदा या चुनौती बढ्दा पनि भारतको नेपालसँग रहेको धर्म संस्कृतिको समानताको सम्बन्ध महत्वपूर्ण हुनआउँछ ।
भारतीय नागरिक नेपाललाई ऋषिमुनीहरुको तपोभुमी, देवभुमी र पशुपतिनाथलगायत भगवानको बाश भएको पवित्र तीर्थस्थल मान्छन् । यसकारण पनि नेपाल र भारतबीचको सम्बन्ध विशेष छ । यो रोटीबेटीको सम्बन्ध मात्र होइन । यो जन जनको सम्बन्ध मात्र होइन । यो साझा धर्मको सम्बन्ध हो । जसका कारण नेपाल र भारतबीचको सम्बन्ध विशेष छ । अहिले धर्मको जगमा टिकेको सम्बन्धलाई सदुपयोग गरी दुवै देशले सिमा विवाद समाधानका लागि वार्तामा बस्नुपर्छ । फेरि एकपटक नेपालमा सनातन धर्मको महत्व प्रकट हुँदैछ । धर्मले मानिसलाई अनुशासित मात्र बनाउँदैन देश देशबीच बिग्रिएको सम्बन्ध सुदृढ हुने अवसर पनि यार गर्छ । त्यसैले देशको स्थायीत्व, जनतामा नैतिक बल, शासकहरुमा राजनीतिक अनुशासनका लागि धर्मको महत्व अझ बढेको छ । यसकारण पनि नेपाल हिन्दु राष्ट्र हुनुपर्ने कारण प्रमाणित भएको छ । (लेखक पाठक सामाजिक अभियन्ता हुन् । उनी नेपाल विश्व हिन्दु महासँघ केन्दिय सदस्य तथा महिला विभाग प्रमुख समेत हुन्)