विराटनगर । एक प्रहरीको ज्यान जानेगरी मोरङको लेटाङमा भएको झडपपछि प्रहरीले आज बिहानदेखि सर्च अपरेसन सुरु गरेको छ । आइतबार भएको झडपमा एक महिला प्रहरीको मृत्यु भएको थियो ।
झडपपछि स्थिति तनावपूर्ण बनेकाले मोरङको लेटाङ–५, खेरूवा वरपरको क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू लगाइएको छ ।
प्रहरीले आइतबारको घटनामा संलग्न रहेको आशंकामा सोमबार बिहान खेरूवाबाट ५ जनालाई नियन्त्रणमा लिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । उक्त घटनामा मोरङ प्रहरी उपरीक्षकसहित २ दर्जन बढी घाइते भएका थिए । तीमध्ये केही सामान्य र केही गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । घाइतेहरूको मोरङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
खेरूवास्थित शिक्षा विकास माविका एक शिक्षकले आफ्नै स्कुलकी एक बालिकालाई यौन दुव्र्यवहार प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा आक्रोशित भिडको आक्रमणमा परेर महिला प्रहरी उर्मिला श्रेष्ठले ज्यान गुमाएकी थिइन् । भिडले उनको घाँटी र छातीमा छुरा प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ ।
स्थानीय शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले सोही विद्यालयमा पढ्ने एक छात्रामाथि यौन दुव्र्यवहार गरेको भन्दै विद्यार्थी र गाउँले बिहानैदेखि प्रदर्शनमा ओर्लिएका थिए । आक्रोशित विद्यार्थी र स्थानीयले शिक्षक र स्थानीय जनप्रतिनिधिलाई कोठामै थुनेर प्रदर्शन गर्दै आगजनीको प्रयास गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । भीडले उग्र रूप लिएपछि प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायरसमेत गरेको थियो । साभार

