
ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीको अभिन्न अङ्गको रुपमा रहेको सङ्गीत विद्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुले विपद् लगायत अन्य आपतकालीन अवस्थामा समेत काम गरी संगठनलाई थप योगदान दिनुपर्ने बताएका छन् ।
नेपाल प्रहरी सङ्गीत विद्यालय महाराजगंजको बुधबार निरीक्षण पश्चात कार्यरत कर्मचारीहरुलाई निर्देशन सम्बोधनको क्रममा उनले उक्त कुरा बताएका हुन् ।
प्रहरी महानिरीक्षक सिंहले प्रहरी कर्मचारीहरूको आफू कार्यरत रहेको ठाउँमा उत्कृष्टता दिने मूल दायित्व रहने चर्चा गर्दै अनुशासन, उत्कृष्टता, लगनशीलताले निश्चय पनि सङ्गीत क्षेत्रलाई शिखरमा पुर्याउने विश्वास व्यक्त गरे । नेपाल प्रहरीसँगै नेपाल प्रहरी वैण्डको प्रख्याति आउनुपर्नेमा जोड दिँदै नेपाल प्रहरीको सङ्गीतलाई अझै गतिशील बनाउन यसको आधुनिकिरण तथा विद्यालयमा कार्यरत प्रहरी कर्मचारीको हित र वृत्ति विकासका लागि प्रहरी संगठन सचेत रहेको बताए ।
उक्त अवसरमा सङ्गीत विद्यालयका प्रहरी नायव उपरीक्षक भुलाराज खनाल समेतको सङ्गीत टोलीले विभिन्न साङ्गीतिक प्रस्तुती दिएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।