
(बिदुर एमसी)
दाङ । भालुवाङ लुम्बिनी प्रदेशमा पर्ने दाङ-देउखुरीकाे राप्तीमा झण्डै एक महिनादेखि भईरहेकाे नदीजन्य पदार्थ उत्खनन् आइतबार अपरान्हबाट राेकिएकाे छ । जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी सुशील बैध नेतृत्वकाे अनुगमन टाेलीले एक महिना देखि मापदण्ड बिपरित स्काईभेटर, जेसिभी जस्ता ठूलाठूला मेसिन औजारहरु प्रयाेग गरी भईरहेकाे नदीजन्य पदार्थ उत्खनन् आइतबार दिउँसोबाट बन्दकाे नाटक गरिएको छ ।
बिगत एक महिनाभन्दा धेरै दिनदेखि कानमा तेल हालेर बसेका जनप्रतिनिधि र प्रजिअले आइतबार मात्रै बल्ल फूर्सद पाएछन् क्यारे । यतिका दिनपछि नदी तथा खाेलाकाे अनुगमन नामक नाटक मञ्चन गर्न भ्याएछन् । देउखुरीकाे राजपुर, गढवा, राप्ती गाउँपालिका र लमही नगरपालिका क्षेत्र भित्र पर्ने राप्ती सहित अन्य खाेलामा दिनरात ठूलाठूला मेसिन प्रयाेग गरि मापदण्ड विपरित उत्खनन् हुँदा स्थानीय आम नागरिकहरुले त्यसलाई रोक्न सक्दो पहल गर्दा समेत सरकार र सिडियाे कार्यालय मुखदर्शक बनेका थिए ।
ठेक्दारहरूले आफू खुसी मनपरी तरिकाले बिना मालिकको सम्पत्तिजस्तो बनाई नदीजन्य पदार्थ उत्खनन् गरेर आफ्नो आकाङ्क्षा पूर्ति गरेपछि जेष्ठ महिनाकाे अन्तिममा आइतबार अपरान्ह गरेकाे अनुगमनले कुनै अर्थ नराख्ने स्थानीय प्रकृतिप्रेमीहरूले बताएका छन् । उनीहरूले राज्यका जिम्मेवार निकाय र जनप्रतिनिधिहरूकाे मिलाेमताेमा प्रत्येक बर्ष यसरी नै नदीजन्य पदार्थ उत्खनन् हुने गरेकाेमा दुख व्यक्त गरेका छन् ।
राप्ती नदी राष्ट्रपति चुरे संरक्षण क्षेत्रमा पर्दछ । चुरे क्षेत्रमा यसरी मेसिनकाे कुरा त परै जओस्, सामान्य डाेजर, टिप्पर समेत प्रयाेग गर्न नमिल्ने कानुनी प्राबधान छ । तर राज्यका जिम्मेवारी निकायहरू राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितीले नीति, विधि र मापदण्डलाई समेत कुल्चिएर आफू खुसी सेटिङ्गमा ठूलाठूला मेसिनहरु प्रयाेग भएकाे स्थानीय वातावरणप्रेमी तथा सामाजिक व्यक्तित्व जगतप्रसाद पाेख्रेलले उल्लेख गरे । पोख्रेलले भने, राज्यकाे जिम्मेवार निकाय र जनप्रतिनिधिकाे मिलाेमताे बिना उत्खनन् हुनै सक्दैन ।
केही दिन पहिले राप्ती नदीकाे दुई नम्बर इन्टेक पाखापानी नजिक सिचाईका लागि भन्दै प्रगन्ना तथा बड्कापथ सिचाई व्यवस्थापन कार्यालय लमहीकाे सिफारिसमा राप्ती गाउँपालिकाले समेत आफूखुसी ठूलाठूला मेसिन औजार प्रयाेग गर्न अनुमति दियाे । त्यसपछि स्थानीय सामाजिक अभियान्ताहरूले जथाभावी तथा मापदण्ड बिपरित उत्खनन् भएकाे भन्दै बिराेध जनाएपछि पालिकामा सर्वदलीय, सर्वपक्षीय बैठक बसी नदि अनुगमन गरी सिचाईका लागि अब कुलाे खन्नुनपर्ने सहमतिमा उत्खनन् बन्द गर्ने सहमती भएपनि उक्त सहमतिकाे समेत उल्ङ्घन गरी ठेक्दार पक्षले जथाभावी, मनपरी हिसाबले र मापदण्ड बिपरित उत्खनन् गर्दा समेत स्थानीय सरकार केही गर्न नसकेकाे र पालिका कै मिलाेमताेमा उत्खनन् गरिएकाे सामाजिक अभियन्ता पाेख्रेलले आक्रोश पोखे ।
याे बर्ष पनि जिल्ला प्रशासन कार्यालय दाङ, जिल्ला समन्वय समिती दाङकाे सहमति राप्ती, गढवा र राजपुर गाउँपालिका तथा लमही नगरपालिकाले राप्ती नदी तथा अन्य खाेलाहरूमा समेत ठूलाठूला मेसिन प्रयाेग गर्न अनुमति दिई उत्खनन् गर्न दिएकाे स्थानीयबासीहरूले बताएका छन् । यस बर्ष मापदण्ड विपरित आफूखुसी उत्खनन् हुँदा समेत स्थानीय सरकार एकशब्द पनि बाेल्न नसक्नु र नियमन समेत गर्न आलटाल गर्नुलाई सजिलै मिलाेमताे रहेकाे प्रष्ट हुने अर्का बौद्धिक व्यक्तित्व धर्मराज अधिकारीले बताए । अधिकारीले मिलाेमताे र सेटिङ्ग बिना यसरी दिनरात उत्खनन् गर्न कसैकाे हिम्मत नहुने तर्क तेर्साए ।
गतवर्ष समेत राप्ती नदीमा ठूलाठूला मेसिन प्रयाेग भएकाे सूचना पुगेपछि राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितीले राप्ती, गढवा गाउँपालिका र लमही नगरपालिकालाई पत्राचार नै गरी तत्काल स्काभेटर तथा डाेजर प्रयाेग गरी नदीजन्य पदार्थ उत्खनन् बन्द गर्न निर्देशन नै दिएकाे थियाे । यस बर्ष पनि राप्ती नदीमा भईरहेकाे उत्खननकाे चाैतर्फी बिराेध भएपनि राज्यका जिम्मेवार निकाय गम्भीर बन्नुका साटाे उत्खनन् लाई प्रस्रय दिएकाे स्थानीय वातावरणबिद्हरुले
आराेप लगाएका छन् । उता राजपुर गाउँपालिकाले नदीमा जथाभावी उत्खनन् गर्न दिएकाे भन्दै केहीदिन अघि स्थानीयबासीले गाउँपालिका कार्यालय घेराउ गर्नुका साथै नाराबाजी समेत गरेका थिए ।
प्रकृतिप्रेमी तथा सामाजिक अभियान्ताहरूले बारम्बार नदि जन्य पदार्थ उत्खननकाे बिराेध गर्दा समेत जिम्मेवार निकाय मूकदर्शक बनेकाे भन्दै आपत्ति समेत जनाएका थिए ।
चर्काे दबाब र आलाेचना पछि आज बल्ल फुर्सद पाएकाे सिडियाे कार्यालय सहितकाे अनुगमन टाेलीले राप्ती नदी सहित अन्य खाेलाकाे अनुगमन पछि तत्काल उत्खनन् बन्द गर्न प्रजिअ वैद्यले ठाडो आदेश जारी गरे । यसैबीच आइतबार भएको अनुगमनलाई स्थानीयस्तरका नागरिकले सिडियाे र जनप्रतिनिधिकाे नाटकमञ्चनकाे संज्ञा दिएका छन् । उनीहरूले एक महिना सम्म मापदण्ड विपरित ठूलाठूला मेसिन प्रयाेग गरि उत्खनन् गर्दा समेत चुक्क नबाेल्ने जिम्मेवार नियमन निकाय पानी माथिकाे ओभानाे बन्न खाेजेकाे आम नागरिकहरुतथा सामाजिक अभियानताहरूले बताएका छन् । आइतवारको अनुगमन र निर्देशनले नदी दाेहन र उत्खनन् काे कुनै अर्थ नरहने समेत स्थानीयबासीहरूकाे भनाई रहेको छ ।