(ABC-Sanchar)
काठमाडौं । कानुन व्यवसायीले कर्मचारीमाथि हातपात गरेको भन्दै देशभरका अदालतका कर्मचारी आन्दोलनमा उत्रिएका हुन्।
उनीहरुले न्यायको माग गर्दै आज दिउँसो साढे १ बजेसम्म नियमित काममा नजाने घोषणा गरेर आन्दोलन गरिरहेका छन् । आन्दोलनका कारण सर्वोच्चसहित देशभरका उच्च र जिल्ला अदालतमा काम प्रभावित भएको छ।
यही असार १३ गते पाटन जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले हातपात गरेको भन्दै न्यायालयका कर्मचारी आन्दोलनमा उत्रिएका हुन्।
अधिवक्ता लामिछानेले उच्च अदालत पाटनको मुद्दा फाँटमा काम गर्ने तामाङसँग सक्कली मिसिल माग्दा विवाद भएको र हातपात भएको दाबी गरिएको छ।
अधिवक्ता लामिछाने हाल प्रहरी हिरासतमा छन्। नासु तामाङले अधिवक्ता लामिछानेलाई कारबाहीका लागि अदालतमा निवेदन पनि दिएकी छन्। उच्च अदालत बार एसोसिएसन र ललितपुर बार एसोसिएसनले अधिवक्ता लामिछानेलाई प्रहरी हिरासतबाट रिहाइ माग गर्दै घटनाको सत्यतथ्य छानबिनको माग गरेका छन्।