(ABC-Sanchar)
पाल्पा । बाँसटारीमा यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले दुई पांग्रे सवारी साधनको लाइसेन्सका लागि ट्रायल (परीक्षण) शुक्रबारबाट सुरु गरेको छ । तराईमा मात्र हुँदै आएको ट्रायल लुम्बिनी प्रदेशको पहाडी जिल्ला पाल्पामा पहिलो पटक सुरु भएको हो ।
लुम्बिनी प्रदेशसभा सदस्य वीरबहादुर रानाले ट्रायलको शुभारम्भ गरे । तानसेन नगरपालिका–७, बाँसटारी ठाँटीमा ट्रायल सुरु भएपछि पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जासम्मका नागरिकले सेवा पाउने छन् ।
एक साताअघि लिखित परीक्षा लिएर शुक्रबार दुई पांग्रे स्कुटी र मोटरसाइकलको ट्रायल गराइएको हो । लिखित परीक्षमा उत्तीर्ण १९० जनाको ट्रायल लिइएको यातायात सेवा व्यवस्था कार्यालयका प्रमुख केशव सुनारले बताए । आगामी दिनमा जनताले सहज ढंगले सेवा पाउनुपर्ने जिल्ला समन्वय समितिकी उपप्रमुख काशिका गैरेले बताइन् ।
सिद्धार्थ राजमार्गको बाँसटारीदेखि एक किलोमिटर नजिकमा सुरु ट्रायल सेन्टरका लागि अघिल्लो वर्ष एक करोड बजेट विनियोजन भएको थियो । ट्रायल सेन्टर नजिक सेवा कार्यालयका भवनका लागि जग्गा व्यवस्थापन भएको र आगामी आर्थिक वर्षमा निर्माण सुरु हुने वडाध्यक्ष प्रदीप खनालले बताए । यसवर्ष एक करोड बजेट छ ।
बाँसटारी क्षेत्रमा प्राप्त जग्गामा भवन र सवारी चालक अनुमतिपत्र तथा परीक्षण केन्द्र सञ्चालन हुँदा विकाससँगै रोजगारीका अवसर वृद्धि हुने तानसेन नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताए ।
हाल ट्रायल सेन्टर बनेको स्थानमा १९ रोपनी जग्गा यातायात कार्यालयको भवन तथा अन्य संरचना बनाउन जग्गाको समेत व्यवस्था गरिएको पूर्ववडाध्यक्ष मुक्तिराम जीसीले बताए । यसअघि साना सवारीसाधनको लाइसेन्सको ट्रायल दिन दुई–तीन दिन लगाएर बुटवल, काठमाडौं, नेपालगन्जलगायतका स्थानमा धाउनुपर्ने बाध्यता थियो ।