(एबिसि संचार )
सर्लाहीको बरहथवामा गोली लागेर मृत्यु भएका युवकको परिवारलाई सरकारले दस लाख रूपैयाँ दिने निर्णय गरेको छ।
शनिबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनअनुसार मृतक बरहथवा नगरपालिका-६ का जयशंकर साहको परिवारलाई राहतस्वरूप १० लाख रूपैयाँ उपलब्ध गराउने निर्णय भएको जानकारी दिएको छ।
गृह मन्त्रालयले उक्त घटनाको छानबिनका लागि सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीम बहादुर बुढाथोकी सदस्य रहने गरी तीन सदस्यीय समिति गठन गरेको छ।
उक्त समितिलाई घटनाबारे सत्य तथ्य पत्ता लगाएर सात दिनभित्र अनुसन्धान प्रतिवेदन बुझाउने निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ।
घटनापछि त्यहाँ स्थानीय प्रशासनले आज बिहानसम्म कर्फ्यु आदेश जारी गरेको थियो। कर्फ्यु हटाएर आज बिहान ८ बजेदेखि भोलि बिहान ८ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ।
अहिले पनि अवस्था सामान्य नरहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए।