ABC (क्राईमबिट)
दाङ । घोराही केही महिना अघि दाङ प्रहरीले रुकुमबाट भित्रिएको ६० किलो चरेस दाङमा बरामद गर्यो । उक्त घटनामा दुई जना महिलासहित ५ जना पक्राउ परे । लमही नगरपालिका ९ अमिलियामा लागू औषधको कारोबार भैरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापामार्दा ६० किलो चरेससहित उनीहरु पक्राउ परे । पक्राउ पर्नेहरु रुकुममा अधिकांश थिए ।
अर्को घटनामा ५ केजी दुई सय ग्राम अफिमसहित ३ जनालाई प्रहरीले दाङको घोराहीबाट पक्राउ गर्यो । जिल्लामा धेरै परिणामा अफिम पक्राउ पर्नु सबैभन्दा ठुलो घटना थियो ।
जिल्ला प्रहरी कार्यालय दाङको अभिलेखलाई मूल्यांकन गर्ने हो भने पछिल्ला वर्षहरुमा ठुलामा मात्रामा लागु औषधहरु कारोबार हुन थालेका छन् । बढ्दो लागु औषध दुव्र्यसन नियन्त्रण गर्न दाङमा जनप्रतिनिधी, आमा समूह, शिक्षक, गैरसरकारी संस्था, प्रहरीको सहभागितामा समुदाय स्तरमा सचेतनामूलक कार्यक्रम पनि हुने गरेका छन् । तर, अभियान सार्थक बन्न सकेको छैन । जसले गर्दा बालबालिकाहरु समेत लागू औषधको दलदलमा फस्दै जान थालेका छन्. ।
बालबालिका तथा युवाहरु विभिन्न औषध दुव्र्यसनमा फस्दै गएपछि विद्यालय स्तरबाटै स्वास्थ्य र सचेतनाका कार्यक्रम प्रभावकारी रुपमा लैजानुपर्ने आवाज बारम्बार उठ्दै आएको छ । व्यक्ति, परिवार र समाजलाई लागु औषधले नराम्रोसँग असर गरिरहेको भन्दै यसलाई रोक्न सचेतना र कानुनी कारवाहीलाई सँगसँगै लैजान ढिलाई गर्न नहुने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्ल बताउनुहुन्छ ।
‘लागु औषधको जोखिम समुदाय स्तरमा निकै डरलाग्दो गरी फैलिईरहेको छ । यो रोक्न राज्य एक्लैले सक्ने अवस्था छैन’ उहाले भन्नुभयो ‘विद्यालय तहबाट सचेतना जगाउने र अभिभावकहरु पनि सचेत हुनुपर्ने बेला आएको छ । प्रहरीले गर्ने दायित्व निर्वाह गर्दै आएको छ । यसमा सबैको साथ जरुरी छ ।’
उसो त, बाल उमेर समुहबाटै कुलतमा फस्नेहरुको संख्या बढ्दै गएको प्रति अभिभावक पनि चिन्तित छन् । घर परिवारको प्रयासले मात्रै रोकथाम सम्भव नभएको भन्दै केही अभिभावकहरु यसको उचित समाधानको खोजी हुनुपर्ने धारणा सुनाउँछन् ।
घोराही उपमहानगरपालिका वडा नम्बर १६ मिलन चौतारी टोलकी छमा बिष्ट महताराले आफ्नै समुदायमा लागुपदार्थको दुव्र्यसनमा फस्ने युवाहरु देख्दा निकै चिन्ता बढेको बताउनुहुन्छ । आफ्ना छोराछोरी विद्यालयबाट फर्किदा कतै गलत संगतमा लागेर कुलतमा फसेर आउने हुन् की भन्नेमा उहाँलाई चिन्ता लाग्छ ।
नवजीवन ज्योति टोल खिरिट्टेका धनराज भण्डारीलाई बालबालिकाहरुमा बढ्दो कुलत देख्ना निकै चिन्तित हुनुहुन्छ । भोलिको समाज सही बाटोमा नरहने होकी भन्ने डरलाग्दो अवस्था सिर्जना हुँदै गएको प्रति उहाँ चिन्ता व्यक्त गर्नुहुन्छ । आफु राम्रो हुँदाहुँदै पनि विभिन्न प्रलोभनमा पारेर अन्जानवश कुलतमा बालबालिका फस्ने अवस्था रहेको भन्दै बालबालिका अनि अभिभावक निकै चनाखो हुनुपर्ने उहाँको भनाई छ ।
पछिल्लो समयमा दाङमा लागू पदार्थ ओसारपसारका घटना बढ्दै गएको छ । दाङ लागू औषधको प्रमुख कारोबार केन्द्र बन्दै गएको प्रहरीको प्रतिवेदनले नै देखाउँछ ।
ब्राउन सुगर, गाँजा, अफिम, हिरोइन, चरेस लगायत लागु औषधको ओसारपसार तथा सेवन गर्नेहरुको बढ्दै गएको प्रहरीको अनुसन्धानले देखाएको छ । यसमा अधिकांश युवाहरुको संलग्नता देखिने गरेको छ । लागु औषध प्रयोगकर्ता एकातिर बढी रहेका छन् । अर्कोतिर लागुऔषध ओसारपसारमा संलग्न हुने भरियाहरु पनि बढी रहेका छन् ।
बिशेष गरी रुकुम, रोल्पा हुँदै दाङ भित्रिने गरेको लागु औषध नेपालगञ्ज हुँदै भारतसम्म कारोबार हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङमा लागु औषध बरामद सम्बन्धी सयौँ घटना अभिलेख भएका छन् ।
‘समाजमा बढ्दो अपराध नियन्त्रणका लागि प्रहरी दिनरात नभनी खटिएको छ तर समाज कता जाँदैछ भन्ने कुरा लागु औषध अपराधले अझ स्पष्ट पारिरहेको छ’ उहाँले भन्नुभयो ‘अब हरेक परिवार सम्वेदनशील हुन जरुरी छ ।’
लागूऔषध प्रयोगकर्ताका कारण आपराधिक क्रियाकलापमा वृद्धि भएको प्रहरीको भनाई छ । धेरैजसो चोरी झैझगडा, लुटपाटलगायत घटनामा लागूऔषध प्रयोगकर्ता संलग्न रहने गरेको प्रहरीको दावी छ । ‘खासगरी मदिरा पसल, फलफूल पसल, किराना पसल लगायतमा चोरी बढी भएको पाइएको छ, लागुऔषध सेवन गर्ने अनि बदमासी गर्ने परिपाटी धेरै पाईएको छ’, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मल्लले भन्नुभयो ‘चोरी गरी भाग्न सजिलो भएका ठाउँ, उज्यालो नभएको र सुरक्षाका पर्याप्त साधनहरु नअपनाइएका पसललगायतमा बढी चोरी भएको पाइएको छ । यी सबै घटनामा लागूऔषध प्रयोगकर्ताको संलग्नता देखिएको छ । यसमा अझ पेशेवर धेरै जसो भेटिने गरेका छन् ।’
अहिले हुने करीव ९० प्रतिशत आपराधिक घटनामा लागुऔषधका प्रयोगकर्ता संलग्न हुने गरेको प्रहरी अध्ययनले भन्ने गरेको छ । जिल्लाको बजार क्षेत्रमा १२ देखि २५ वर्ष उमेर समुहका युवाहरु लागूऔषधको कुलतमा फसेको पाईएको छ । बजार क्षेत्रदेखि ग्रामीण क्षेत्रसम्म लागूऔषधका प्रयोकर्ताहरु अहिले फैलिँदै गएका छन् । लागुओषध दुव्र्यसनमा फस्नेहरुमध्ये कोही सुधार गृहमा पुगेका छन् । कोही प्रहरी नियन्त्रणमा पर्दा कारगारमा सजाय भुक्तान गरिरहेका छन् ।
लागुऔषधका सेवनकर्ता र कारोबारीहरुको पहिचान गरी पक्राउ गरी प्रहरीले प्रचलित कानुनअनुसार मुद्दासमेत चलाउँदै आएको छ । जिल्लालाई लागुऔषधमुक्त बनाउन समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत विभिन्न सरोकार निकाय, संघसंस्थाहरुसँगको सहकार्यमा नियमित रुपमा सचेतनाका कार्यक्रम पनि प्रहरीले संचालन गर्दै आएको छ ।
लागु औषध दुव्र्यसन हुने स्थान, प्रयोगकर्ताको पहिचानलगायतका काम आन्तरिक रुपमा गरिरहेको प्रहरीले गाउँटोलमा पुगेर पनि सबैलाई सचेतना र कानूनी पक्षका बारेमा जानकारी गराउने काम गर्दै आएको छ । तर, चुनौति थपिँदै गएको उहाँको भनाई छ ।
‘युवा पुस्ता बचाउने हो भने सबै गम्भीर हुनुपर्छ । घरबाट बाहिर निस्कको आफ्नो सन्तान घरमा आईपुग्दा ।