बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ अन्तर्गत पर्ने जयसपुरस्थित सीमा प्रहरी चौकी अन्तर्गतको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा ‘प्रहरी–नागरिक संवाद कार्यक्रम’ सम्पन्न भएको छ। लागू औषध कारोबारजस्ता नियन्त्रण, सीमा सुरक्षालगायतका विषयमा महत्वपूर्ण छलफल सहित कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता सामुदायिक सेवा केन्द्रका अध्यक्ष सालिकराम पाठकले गर्नुभएको थियो, प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी रहनुभएको थियो। कार्यक्रम सञ्चालन डा. राजेन्द्र कुमार गुप्ताले गर्नुभएको थियो।
कार्यक्रममा नेपालगञ्जका मेयर प्रशान्त बिष्ट, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक रामप्रसाद घर्ती मगर, सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरीका गणपति एसपी शोभाकान्त खनाल, वडा नम्बर १६ का वडाध्यक्ष कलिम अहमद जोलाह, वडा नम्बर १४ का वडाध्यक्ष मजहर अली साई, नेकपा एमालेका नेता भीम ओली, लागू औषध विरुद्ध निःशुल्क परामर्श केन्द्रका अध्यक्ष दिपेन्द्र कुमार जोशी समाजसेवी, विभिन्न संघसंस्था,प्रतिनिधि सञ्चारकर्मी तथा स्थानीयवासीहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुवातमा विशिष्ट अतिथिहरूलाई सम्मान गरिनुका साथै सामुदायिक प्रहरी सेवा केन्द्रमा विशेष महत्व दिने मेयर प्रशान्त बिष्टले सामुदायिक प्रहरी सेवा केन्द्र जयसपुरलाई अघिल्ला वर्षमा उपमहानगरपालिकाबाट बजेट विनियोजन भइसकेको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो।
प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले भारतसँगको खुला सिमानाका कारण जयसपुर क्षेत्रमा लागू औषध चोरी, पैठारी बढ्दै गएकोतर्फ ध्यानाकर्षण गराउँदै सुरक्षा निकायहरूबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले यस क्षेत्रका लागि विशेष टास्क फोर्स गठन गर्न निर्देशन दिइसकेको जानकारी दिनुभयो। “सामाजिक अपराध नियन्त्रणमा समुदायको सक्रिय सहभागिता आवश्यक छ,” उहाँले भन्नुभयो।
नेकपा एमालेका नेता भीम ओलीले वडा नं. १६ मा बढ्दो बाँदर आतंक र लागू औषध समस्या समाधानका लागि स्थानीय सरकार तथा जनप्रतिनिधिहरूले ठोस पहल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। “समाजका यस्ता समस्याहरू सबै मिलेर मात्र समाधान गर्न सकिन्छ,” उहाँले जोड दिनुभयो।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका पूर्व अध्यक्ष विद्या शर्माले जयसपुर क्षेत्रमा बालविवाहको वृद्धि प्रति चिन्ता व्यक्त गर्दै संघसंस्था तथा सुरक्षानिकायलाई रोकथाममा सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो।
स्थानीयवासीहरूले चोरी, तस्करी तथा लागू औषध कारोबारजस्ता आपराधिक गतिविधिहरूको तत्काल नियन्त्रण गर्न आग्रह गर्दै राजनीतिक संरक्षण, स्रोतसाधनको अभाव र प्रशासनिक कमजोरीका कारण समस्या जटिल बन्दै गएको धारणा व्यक्त गरे।
सामुदायिक प्रहरी सेवा केन्द्रको पहलमा सम्पन्न उक्त कार्यक्रममा प्रहरी–नागरिक सम्बन्ध सुदृढ हुनुका साथै सुरक्षा र सामाजिक सचेतनामा सशक्त सन्देश दिएको सहभागीहरूको प्रतिक्रिया रहेको छ।
खुला सीमा, सीमित स्रोत र जनशक्ति, राजनीतिक हस्तक्षेपजस्ता चुनौतीहरूबीच पनि प्रहरी प्रशासनको सक्रियता र समुदायको सहकार्यबाट सकारात्मक परिणाम आउने अपेक्षा गरिएको छ। कार्यक्रमको समापनमा केन्द्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो। समापन मन्तव्य सामुदायिक सेवा केन्द्र अध्यक्ष शालिकराम पाठकले राख्नुभएको थियो।