काठमाडौं । सगरमाथा संवादको सन्देशसहित विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी फिर्ता भएका सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्याललाई एक तह बढुवा गरिएको छ ।
सगरमाथाको सफल आरोहण गरी साहसिक कार्य गरेबापत सशस्त्र प्रहरी बल नेपालले उनलाई सशस्त्र प्रहरी सहायक निरीक्षकबाट सशस्त्र प्रहरी नायव निरीक्षक पदमा पदोन्नति गरेको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बिहीबार सशस्त्र प्रहरी नायव निरीक्षक पदमा बढुवा भएका छत्याललाई दर्ज्यानी चिन्ह प्रदान गर्नुका साथै सगरमाथा सफल आरोहणको बधाई समेत दिए । महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरूले सगरमाथा आरोहण गर्न सक्छु भन्ने भावना लिई साहसिक कार्य गर्दा सबैमा हौसला मिल्ने चर्चा गर्दै सगरमाथा आरोहण गर्ने व्यक्तिको मात्र नभई देश र संगठनको नाम समेत उच्च रहने बताए ।
उनले सगरमाथा लगायतका हिमालहरू आरोहण गर्ने आट, साहस र हौसला सबैमा प्रदान होस् भन्ने विश्वास प्रकट गर्नुहुँदै आगामी वर्षदेखि सशस्त्र प्रहरी बल नेपालका सबै प्रदेश कार्यालयहरूमा हिमाल आरोहण गर्ने अभियान नै सुरु गर्ने बताए ।