काठमाडौं । सप्तरीस्थित सप्तकोसीमा दुई गोताखोर बेपत्ता घटना बुझ्न गृहमन्त्री रमेश लेखक सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोक पुगेका छन् ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोसी नदीमा बिहीबार अपराह्न मनसुनजन्य विपद्को पूर्वतयारी अभ्यास गर्ने क्रममा हरदेव राजवंशी र सुरज साउद बेपत्ता भएका थिए ।
राजवंशी श्रीअन्तु गण ईलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा र साउद १३ नम्वर गण पर्सा दरबन्दी भई छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत थिए ।बेपत्ता गोताखोरबारे बुझ्न लेखक शुक्रबार हल्चोक पुगेका हुन् । हल्चोक पुगेर उनले शोकलाई शक्तिमा बदल्दै थप सचेत भएर काम गर्न निर्देशन दिएका छन् ।
‘अभ्यासका क्रममा ज्यान गुमाएका रास्ट्रसेवकको शोकलाई शक्तिमा बदल्दै आगामी दिनमा थप सचेत र सुरक्षा अपनाउन जरुरी रहेको छ’ उनले भने । खतराजन्य उद्दारमा खटिने जनशक्तिको जीवन बिमा बारे मन्त्रालयले थप कार्य गर्ने पनि उनले बताएका छन् ।सशस्त्र प्रहरी हेडक्वाटरले घटनाबारे गृहमन्त्री लेखकलाई ब्रिफिङ गरेको छ ।बेपत्ता मध्ये एक जना गोताखोर राजवंशीको शव तीन किलोमिटर तल भेटिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए । अर्का एक जना भने अहिलेसम्म बेपत्ता छन् ।