काठमाडौं । सत्तारुढ कांग्रेस, एमाले र माओवादी केन्द्रबीच भएको दुई बुँदे सहमतिमा रास्वपाले असहमति जनाएको हो।
रास्वपा सह–प्रवक्ता मनिष झाले तीन दलबीच भएको सहमतिले समस्याको समाधान नदिने बताए। माओवादीले आफूहरुलाई समेत दुई बुँदे सहमति मान्न भने पनि आफूहरु तयार नभएको उनको भनाइ थियो।
तीन दलबीच भिजिट भिसा प्रकरण छानबिनका लागि समिति बनाउने भनिएको सहमतिअनुसार गृह मन्त्रालयका कुनै सहसचिवको नेतृत्वमा समिति बन्न सक्ने आशंका आफूहरुलाई रहेको झाले उल्लेख गरे।
‘माओवादीले सहमतिका लागि हामीलाई पनि आग्रह गरेको थियो। तर, उहाँहरुले गरेको सहमतिमा समस्याको सामाधान गर्ने ठोस प्रस्ताव उल्लेख नभएकाले हामी सहमत हुन सकेनौँ’, झाले भने, ‘उहाँहरुले छानबिन समिति बनाउने भन्नुभएको छ। त्यो समिति गृह मन्त्रालयका कुनै सहसचिवको नेतृत्वमा बन्न सक्छ। त्यसले समस्याको कुनै समाधान गर्दैन।’
उनले भिजिट भिसाको आवरणमा हुँदै आएको मानव तस्करीबारे छानबिन हुने विश्वसनीय आधार तयार नहुँदासम्म आफूहरुको आन्दोलन जारी रहने बताए।
झाले आफूहरुलाई छाडेर प्रमुख दुई सत्तारुढ घटकसँग सहमति गरेको माओवादीसँग तत्कालका लागि रास्वपाको ‘पारपाचुके’ भए पनि मायाप्रीति भने कायमै रहने प्रतिक्रिया दिए।
‘माओवादीसँग मायाप्रीति जारी रहने गरी अहिलेलाई पारपाचुके भएका छौँ’, झाले भने,‘ १८/२० दिन हामीसहितको विपक्षी मोर्चाको नेतृत्व गर्नुभएकोमा प्रचण्डजीस्लाई धनवाद दिन चाहन्छौँ।’