
दाङ । तुलसीपुर उपमहानगरपालिका–६ गोलौरामा रहेको गुरुकुल एकाडेमी तुलसीपुरका आज विद्यार्थीहरूले नाटक प्रदर्शन गरेका छन् । शिक्षा, संस्कार र संस्कृतिको त्रिवेणी गुरुकुल एकाडेमीका विद्यार्थीहरुले नाटक प्रदर्शन गरेका हुन् ।
विद्यालयमा अध्ययनरत कक्षा २ देखि ९ सम्मका १८ जना विद्यार्थीहरूले ‘दुःखी राजकुमारी’ शीर्षकको नाटक प्रदर्शन गरेका हुन् । नाटकमा मानिस आफूभित्रको कमजोरीकै कारण दुःखी हुने कुरा दर्शाएको थियो । मानिस आफूभित्रको कमजोरीकै कारण दुःखी हुने भएकाले खुसी आफुभित्र खोज्न प्रेरीत गरिएकोे थियो । हरेक मानिसको जिवनमा आइपर्ने समस्या कसरी समाधान गर्ने भन्ने जीवनोपयोगी शिक्षा प्रदान गरिएको छ ।
नाटकमा गुरुकुल एकाडेमीमा अध्ययनरत पुर्ण बहादुरको सारङ्गी चलचित्रका बालकलाकार स्वयं केसीको पनि सहभागिता थियो । गुरुकुल एकाडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले विद्यालयले शिक्षासंगै विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासका लागि अभिनय कक्षा सुरु गरेको बताउनुभयो । रेडियो क्लव, तेक्वान्दो क्लव, डान्स क्लव, संगीत क्लब जस्तै विद्यालयमा जेठ महिनादेखि अभिनय कक्षा पनि सञ्चालन गरेको जानकारी दिनुभयो ।
उहाँले जीवन नै अभिनय हो भन्ने उदेश्यका साथ अभिनय कक्षा सञ्चालन गरेको बताउनुभयो । अभिनयले विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र प्रस्तुतिकरणमा निखारता ल्याउन ठूलो सहयोग पुग्ने उहाँले भनाई छ ।
अभिभावक भूपेन्द्र सुनार (नेपुन) ले बालबालिकाहरूको अभिनय राम्रो लागेको बताउनुभयो । छोराछोरीहरूलाई स्टेजमा आत्मविश्वासका साथ प्रस्तुत भएको देख्दा निकै खुसी लागेको उहाँको भनाई छ । यो नाटकले बालबालिकाहरु अभिभावकहरुको सही मार्गदर्शन र साथ पाएमा धेरै अगाडि जान सक्छन् भन्ने कुरा थाहा पाएको बताउनुभयो ।
गुरुकुल एकाडेमीले विद्यार्थीहरुलाई शैक्षिक क्षेत्रमा मात्रै नभएर नेतृत्व विकासका लागि विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको प्रधानाध्यापक गिरीले बताउनुभयो । नाटकको प्रमुख प्रशिक्षकमा नाटक लेखक तथा निर्देशक प्रणव आकाश रहनुभएको छ ।