धनुषा । सिरहाको धनगढीमाई नगरपालिका–६ का अन्दाजी ५५ वर्षीय बिन्देश्वर महराको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए।
शुक्रबार राति ढल्केवर–जनकपुर खण्डअन्तर्गत मिथिला नगरपालिका–६ ढल्केवरमा जनकपुरतर्फ गइरहेको नम्बर नखुलेको गाडीले ठक्कर दिँदा महरा गम्भीर घाइते भएका थिए। उनलाई थप उपचारका लागि लालगढस्थित मोडल हस्पिटल लगिएकोमा चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरी निरीक्षक यादवले बताए।
उनका अनुसार मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। ‘ठक्कर दिने गाडीको एकिन भइसकेको छैन। शंकास्पद केही गाडीहरुलाई नियन्त्रणमा लिएका छौं,’ प्रहरी निरीक्षक यादवले भने ‘आसपासका सिसीटिभीको सहायताले अनुसन्धान गरिरहेका छौं। सडकमा लाइट नभएर समस्या भएको छ।’ मृतक महरा ढल्केवरस्थित रहेको मिथिला हार्डवेयरमा काम गर्दै आएका थिए।