दाङ । पूर्वी देउखुरी भालुवाङ सहित राप्ती गाउँपालिका क्षेत्रमा प्रहरीको सुरक्षा सक्रियता बढेको देखिन्छ । ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक पुष्कर सिंह ऐरी आफ्नो सेवा क्षेत्रमा दिनरात खटिरहेका छन् ।
हालैका दिनदेखि राप्ती गाउँपालिकामा खासगरी पाखापानी, मौरिघाटमा रातिको बेला होहल्ला गर्ने, चोरी गर्नेजस्ता घटनाहरु बढ्दै जान थालेका हुनाले प्रहरीको सुरक्षा सक्रियता बढेको प्रहरी प्रमुख ऐरीले बताएका छन् । रातिको समयमा प्रहरीले गस्ती गर्दा देखिने भेटिने त्यस्ता शंकास्पद व्यक्तिहरुलाई आवश्यक अनुसन्धान सोधपुछ गरेर उनीहरूका तथ्यांक लिएर मात्रै छोड्ने गरिएको उनलेे जानकारी दिए ।
पूर्वमा प्युठानसित सिमाना जोडिएको शान्तिपुर चैतेदेखी पश्चिममा लमही नगरपालिकाको नर्तीसम्म प्रहरीले सुरक्षा सक्रियता बढाएको छ । प्रहरी पनि पोसाक सहितको नागरिक भएकोले बिना पोसाकमा रहेका प्रहरी अर्थात आम नागरिकसितको सहयोगमा यस्तो सक्रियता बढाइएको उनको दाबी छ । दिउँसोको समयमा पनि हाम्रो गस्ती हुन्छ । त्योभन्दा अधिक रातिको समयमा गाउँ गाउँमा हामीले गस्ती बढाएका छौँ, प्रहरी निरीक्षक ऐरीले स्पष्ट पारे ।