पर्सा । बिरगंज श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिद्वारा गठित रथ यात्रा धार्मिक समन्वय समितिले गहवामाई मन्दिरको पुनर्निर्माणको १६औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको तेस्रो रथ यात्रामा एक लाख भन्दा बढी श्रद्धालुहरूको सहभागिता रहेको समितिले जनाएको छ ।
निर्धारित समयभन्दा केही ढिलो गरी बिहान ८ बजे गहवामाई मन्दिरमा विशेष पूजापाठसहित सुरु भएको रथ यात्रा घण्टाघर चोक, रेल्वे रोड, नगवा, छपकैयाको छठघाट चोक हुँदै वीरगञ्जको मुख्य सडकमा पर्ने बिर्ता, आदर्शनगर, महावीरस्थान हुँदै पुनः गहवामाई मन्दिरमा पुगेर समापन भएको थियो ।
रथ यात्रामा वीरगञ्जसहित पर्सा जिल्लाका विभिन्न स्थानीय तह, बारा, रौतहट, सर्लाही, मकवानपुर, चितवन र काठमाडौँबाट समेत श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको समितिका अध्यक्ष श्यामकुमार पोखरेलले बताए । उनका अनुसार, सीमावर्ती भारतीय सहरहरू रक्सौल, मोतिहारी, बेतिया, रामगढवा र अरेराजबाट पनि ठूलो सङ्ख्यामा श्रद्धालुहरूले सहभागिता जनाएका थिए ।
रथ यात्रालाई वीरगञ्जवासीले विभिन्न स्थानमा भव्य स्वागत गरेका थिए । नगरवासीहरूले रथमाथि पुष्प वर्षा गर्नुका साथै सहभागी श्रद्धालुहरूका लागि पानी, जुसलगायतको व्यवस्था गरेका थिए । सहभागीहरूले भगवा र रातो रङ्गको लुगा लगाएर गहवामाईको जयजयकार गरेका थिए ।