रसुवा । २०७६ जेठदेखि सञ्चालनमा आएको उक्त पुल गएराति आएको बाढीले बगाएसँगै दुई देशबीचको सडक सञ्जाल टुटेको हो।
२०७७ सालमा आएको बाढीले उक्त पुलमा क्षति गरेपछि मर्मत गरेर पुनः सञ्चालनमा ल्याइएको थियो। चीनबाट बग्ने लेन्दी खोलामा बाढीले बर्खाको बेलामा क्षति गर्ने गरेको छ। जसको कारण दुई देशबीचको सडक सञ्जाल टुट्ने गरेको छ।
उक्त पुल चिनियाँ लगानीमा निर्माण भएको थियो। जीर्ण अवस्थामा रहेको पुल २०७२ सालमा आएको भूकम्पले थप क्षति गरेपछि पुलको पुनर्निर्माण तिब्बत इन्जिनियरिङ कम्पनी लिमिटेड तान सुन रोड एण्ड ब्रिजले गरेको थियो।
व्यापारिक कारोबार बढ्दै गएपछि पहिले भएकोभन्दा ५ मिटर उत्तरपूर्वमा पुल निर्माण गरिएको थियो। यसअघि पहिरोका कारण प्रभावित हुँदै आएको व्यापार बाढीले पुल नै बगाएपछि झनै अनिश्चित भएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले यसविषयमा चीनस्थित महावाणिज्यदूत तथा सीमामा रहेका चिनियाँ अधिकारीहरूसँग पनि कुरा भइरहेको बताए।
उनले भने ‘हामीले बाढीमा फसेकाहरूको उद्धारको काम गरिरहेका छौं। हालसम्म ९ जनाको उद्धार भयो। बेपत्ताको खोजी कार्य पनि भइरहेको छ। एक जनाको खुट्टा फेला परेको छ। बाढीले सीमामा क्षति गरेको भएर हामीले चिनियाँ पक्षसँग पनि कुराकानी गरिरहेका छौं।’ उनले बाढीले सीमानाका बन्द हुनुका साथै त्यहाँ पुग्ने सडक सञ्जाल समेत क्षतविच्छेत भएको बताए।