२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

मधेशका जिल्लाहरुमा असारमै खडेरी देखा परेपछि करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

Logo
Abc Sanchar प्रकाशित सोमबार, आषाढ ३०, २०८२

जनकपुर । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार हाल सम्म मधेश प्रदेशमा ३३.७८ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ । गतवर्ष यस अबधि सम्म मधेश प्रदेशमा साढे ६१ प्रतिशत धान रोपाइँ भइसकेको थियो । मधेश प्रदेशमा रोपाइँ गर्न ढिलाइ हुनुको मुख्य कारण असारमै देखिएको खडेरी हो ।

मधेशमा पानी पर्न नसकेपछि त्यहाँका अधिकांश क्षेत्रका किसानहरुले बोरिङमार्फत सिँचाइ गरेर रोपाइँ गरिरहेका छन् । मधेश प्रदेश सरकारको मन्त्री परिषदले नै त्यहाँका आठ वटै जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ भने सम्भावित खाद्य संकट र कृषकको क्षतिको मूल्यांकनका लागि राहत तथा अनुदान कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको छ । कृषि विशेषज्ञहरूका अनुसार यदि केही दिनभित्र पर्याप्त वर्षा नभए मधेश प्रदेशमा खाद्य संकट निम्तिन सक्ने खतरा रहेको छ ।

मन्त्रालयका अनुसार देशभर हाल सम्म ५९ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यस अबधि सम्म देशभर ६७.७ प्रतिशत रोपाइँ भएको थियो । यसवर्ष रोपाइँ कम हुनुमा मधेश प्रदेशमा रोपाइँ हुन नसक्नुलाई मन्त्रालयले कारण मानेको छ ।

मन्त्रालयका अनुसार देशभर १३ लाख ८३ हजार ७३२ हेक्टर जमिनमा बर्षे धान खेती हुने गरेकोमा हालसम्म जम्मा ८ लाख १६ हजार ४०५ हेक्टर जमिनमा रोपाइँ सकिएको हो । सूदूरपश्चिम प्रदेशमा हाल सम्म ९३.१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

गत वर्ष यस अवधि सम्म सूदूरपश्चिममा ८६ प्रतिशत धान रोपाइँ सकिएको थियो । सूदूरपश्चिममा कुल १ लाख ७६ हजार १५१ हेक्टर जमिनमा धान रोपाइँ हुने गरेकोमा हाल सम्म १ लाख ६३ हजार ९९३ हेक्टरमा रोपाइँ सकिएको हो ।

कर्णाली प्रदेशमा हाल सम्म ८३.२३ प्रतिशत धान रोपाइँ सकिएको छ । यस प्रदेशमा ४० हजार ८८४ हेक्टरु जमिनमा धान खेती गरिन्छ । त्यसमध्ये हालसम्म करिब ३४ हजार हेक्टरमा रोपाइँ सकिएको छ । गत वर्षको यस अवधिसम्म भने यस प्रदेशमा हालसम्म करिब ८६ प्रतिशत रोपाइँ सकिएको थियो ।

लुम्बीनी प्रदेशमा हाल सम्म ७३.६८ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यस अवधि सम्म लुम्बीनीमा ६६.७ प्रतिशत धान रोपाइँ भएको थियो । यस प्रदेशमा कुल ३ लाख २ हजार ८८९ हेक्टर जमिनमा धानखेती हुने गरेको छ ।

गण्डकी प्रदेशमा हाल सम्म ६६.९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ । गत वर्ष यस अवधिसम्म यस प्रदेशमा ६७.४ प्रतिशत मात्रै धान रोपाइँ सकिएको थियो । यस प्रदेशमा कुल ९४ हजार १८२ हेक्टरमा धानखेती हुने गरेको छ ।

बागमती प्रदेशमा हाल सम्म ७६.३१ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यस अवधि सम्म यहाँ करीब साढे ७०.६ प्रतिशत रोपाइँ भएको थियो । यस प्रदेशमा कुल १ लाख २० हजार ५४५ हेक्टर जमिनमा धानखेती हुने गरेको छ ।

कोशी प्रदेशमा हाल सम्म ४१. ३२ प्रतिशत धान रोपाइँ सकिएको छ । यस प्रदेशमा कुल २ लाख ७६ हजार ३८७ हेक्टर जमिनमा धानखेती हुने गरेको छ । यहाँ गतवर्ष यस अवधि सम्म ६१.७ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]