काठमाडौं । पाकिस्तान पञ्जाब प्रान्तमा बुधवार बिहानदेखि परेको मुसलधारे वर्षापछि भएको विपत्तिमा परी बिहीबारसम्म ६३ जनाको मृत्यु भएको पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले अधिकांश मानिसहरू घर भत्किँदा थिचिएर मारिएका छन्। केही मानिसहरूको डुबेर र करेन्ट लागेर पनि मृत्यु भएको बताइएको छ । विपद्का घटनामा परी २९० जना घाइते भएको बिबिसीले जनाएको छ ।
राजधानी इस्लामवाद नजिकैको सहर रावलपिण्डीमा मानिसहरू सुरक्षित रहून् भनेर बिहीबार सार्वजनिक बिदा समेत दिइएको थियो । सहरभित्रको नदी खतरा तहमा पुगेपछि किनाराका बासिन्दालाई दिउँसै सुरक्षित स्थानमा सारिएको थियो । पञ्जाबकी मुख्यमन्त्री मरियम नवाजले प्रान्तभरि आपत्काल घोषणा गरेकी छन् ।
पाकिस्तानभर मनसुन सुरु भएको जुन अन्त्यदेखि अहिलेसम्म झन्डै १८० जनाको मृत्यु भइसकेको छ, जसमा अधिकांश बालबालिका छन् । पञ्जाबका विभिन्न क्षेत्रमा बाढीले एक्सप्रेस-वे बन्द गराएका छन् भने दर्जनौँ उडानहरू रद्द वा ढिला भएका छन् ।
चकवाल सहरमा २४ घण्टामै ४०० मिमि वर्षा भएपछि स्थिति गम्भीर भएको छ । उद्धारकर्ताहरू डुङा र हेलिकप्टरमार्फत बाढीमा फसेका मानिसहरूको खोजी गर्दै छन् । करिब २५ करोड जनसङ्ख्या भएको पाकिस्तान जलवायु परिवर्तनबाट विश्वमै सबैभन्दा धेरै प्रभावित हुने देशहरूमध्ये पर्दछ ।
सन् २०२२ मा आएको बाढीले देशको एक तिहाइ भूभाग डुबाएको थियो । त्यति बेला १ हजार ७०० जनाको मृत्यु भएको थियो भने ३० अर्ब डलरभन्दा बढीको आर्थिक क्षति भएको रिपोर्ट छ । एजेन्सी