काठमाडौं । २०८१ साउन ९ गते सी–चेकका लागि काठमाडौंबाट पोखराका लागि उडेलगत्तै दुर्घटना भएको सौर्य एयरलायन्सको विमान दुर्घटनाको मुख्य कारण जहाजको प्राविधिक समस्या नभई पाइलटकै त्रुटि भएको प्रतिवेदन सार्वजनिक भएको छ । दुर्घटनाको अनुसन्धान गर्न सरकारले गठन गरेको जाँच आयोगले शुक्रबार सार्वजनिक गरेको अन्तिम प्रतिवेदनले टेकअफका क्रममा पाइलटले जहाजको अगाडिको भाग अत्यधिक माथि उचालेका कारण ‘पिच रेट’ बढी हुन गई जहाजको गति घटेर दुर्घटना भएको औँल्याएको हो ।
उडानका क्रममा जहाजको अगाडिको भाग स्वीकृत मापदण्डभन्दा अत्यधिक माथि उचालिनुलाई ‘पिच रेट’ बढी हुनु भनिन्छ । यस्तो अवस्थामा जहाजको गति घटेर आकासमै अड्किएजस्तो स्थिति उत्पन्न हुन्छ । यस्तो अवस्थामा जहाजको अगाडिको भाग अत्यधिक उचालिएर पखेटामा हावाको बहाव ठप्प हुन्छ । यसले गर्दा जहाजले उचाइ लिन नसकी दुर्घटना हुन्छ । यस कम्पनीका अरू उडानमा पनि तोकिएको मापदण्डभन्दा बढी ‘पिच रेट’ मा जहाज उडाउने गरेको आयोगको प्रतिवेदनमा उल्लेख ।
सौर्य एयरको ५० सिट क्षमताको क्यानेडीयन ‘बमबार्डियर जेट सीआरजे–२००’ विमान त्रिभुवन अन्तर्राराष्ट्रिय विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा क्याप्टेन मनिषरत्न शाक्यको जीवितै उद्धार गरिएको थियो । हाल उनी ग्राउन्डेड नै छन् । सौर्य एयरलायन्सलाई पनि व्यावसायिक उडानमा रोक नै लगाइएको छ । ६ हजार १ सय ८५ घन्टा उडान अनुभव भएका शाक्यले उक्त उडान गरेका थिए ।