काठमाडौं । भक्तपुरको बोडे सिन्टिटारस्थित एक घरमा बस्दै आएका दुई दिदीबहिनीले आत्महत्या गरेका छन् । मृतकहरूको पहिचान १७ वर्षीय मेनुका कँडेल र १५ वर्षीय सृजना कँडेलको रूपमा भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान पौने ७ बजे उनीहरू मृत अवस्थामा फेला परेका हुन् ।
आत्महत्या पूर्व उनीहरूले आफ्नै मोबाइलबाट सेल्फी मोडमा पासो लगाउने तयारीका विभिन्न चरणका फोटो र भिडिओ खिचेर टिकटकमा अपलोड गरेको पाइएको छ । भिडिओमा दुवैले एउटै डोरीमा पासो लगाएको देखिन्छ । भिडिओमा प्रयोग भएको गीत छ, ‘मरेर गए नि नतोडिने बन्धन माया हो…’।
प्रहरीले घटनास्थलबाट बरामद गरेको मोबाइलमा उक्त टिकटक भिडिओ फेला पारेको हो । प्रहरीका अनुसार, घाँटीमा पासो लगाउँदा उनीहरूको अनुहारमा कुनै पीडा नदेखिएको र सामान्य अवस्थामा फोटो खिचिएको छ । भिडिओ अपलोड गरेको केही बेरमै उनीहरू अफलाइन भएका थिए ।
सुर्खेतको पञ्चपुरी नगरपालिका-८ का स्थानीयवासी दिदीबहिनीका बाबुआमा रोजगारीका लागि भारतमा छन् । प्रहरीले परिवारलाई खबर गरेपछि उनीहरूका बुबा नेपाल फर्किँदै छन् । मृतककी कान्छी आमाले प्रहरीलाई बताएअनुसार दुवै छोरी भारतबाट भागेर काठमाडौँ आएका थिए । उनीहरू काठमाडौँको कलङ्कीमा बस्ने आन्टीको सम्पर्कमा थिए ।
कान्छी आमाका अनुसार, दुई छोरी एकसाथ हराएपछि भारतमा विभिन्न मिडियामार्फत हराएको सूचना समेत जारी गरिएको थियो । तर, उनीहरू काठमाडौँ आएको र यहाँ बस्दै आएको कुरा मृत अवस्थामा फेला परेपछि मात्र थाहा भएको उनले बताइन । उनीहरूले आफ्नो ठेगाना र बसाइबारे परिवारलाई कुनै जानकारी दिएका थिएनन् ।
प्रहरीले मृतकको मोबाइल जाँच्दा उनीहरूले आत्महत्याअघि फेसबुकमा बुबाको भारतमा प्रयोग हुने मोबाइल नम्बर राखेको पाइयो । सोही नम्बरका आधारमा प्रहरीले बुबालाई सम्पर्क गरी घटनाबारे जानकारी गराएको थियो । बुबाले कलङ्कीमा रहेकी आन्टीलाई तत्काल सम्पर्क गर्न भनेपछि उनी घटनास्थल पुगेकी थिइन् ।
भक्तपुरका जिल्ला प्रहरी प्रवक्ता डिएसपी ढुण्डिराज न्यौपानेका अनुसार, मोबाइलमा भेटिएको टिकटक भिडिओ र अन्य सम्पर्क नम्बरका आधारमा पहिचान खुलाइएको हो । हाल उक्त मोबाइल सिल गरिएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
उनीहरूले भारतबाट भाग्नुअघि फेसबुकमा सबै आफन्तलाई ब्लक गरेको पनि पाइएको छ ।