बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा एक युवतीको विभत्स हत्या भएको छ। दैलेखकी २२ वर्षीया निर्मला थापाको घाँटी सलले बेरेर हत्या गरिएको हो।
निर्मला विगत दुई वर्षदेखि नेपालगन्जको बीपी चोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा कार्यरत थिइन्। घटना मंगलबार बिहान भएको बताइएको छ। बर्दियाका ३५ वर्षीय प्रकाश सुनारले हत्या गरी निर्मलाकी बहिनीलाई फोनमार्फत ‘दिदीलाई मैले मारेँ’ भनेका थिए।
हत्यापछि राति २ बजे प्रकाश सुनार आफैँ प्रहरीमा आत्मसमर्पण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगेका थिए। प्रहरीका अनुसार उनले आफ्ना साथीभाइ र आफन्तलाई “अब यति हो है भेटघाट” भन्ने सन्देश पनि पठाएका थिए।
स्वस्तिक कटेजमा ‘क्याप्टेन’ का रूपमा कार्यरत प्रकाश विवाहित थिए। उनका एक छोरा र एक छोरी छन्, र परिवार बर्दियामै बसोबास गर्दै आएको छ। अनुसन्धानमा उनले र निर्मला तीन वर्षदेखि बेलासपुरमा सँगै बस्दै आएको खुलेको छ।
हत्या भएको दुई दिनपछि मात्र निर्मलाको शव पोष्टमार्टमका लागि भेरी अस्पताल लगिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता एवं सूचना अधिकारी डीएसपी दीपक पातलीले अनुसन्धान जारी रहेको बताए । अहिले हत्या पछाडिको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ, तर प्रारम्भिक अनुमान अनुसार व्यक्तिगत सम्बन्ध र द्वन्द्व यस घटनाको कारण हुन सक्ने बताइएको छ।