रुपन्देही । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका अनुसार मृत्यु हुनेमा ९८ पुरुष र २३ महिला रहेका छन् । गत आर्थिक वर्षमा जिल्लामा कुल ८०२ वटा सवारी दुर्घटना भएका थिए, जसमा १ हजार १६२ सवारीसाधन संलग्न थिए । ट्राफिक प्रहरी प्रमुख रन्जु केसीले सुविधासम्पन्न सडकमा चालकको लापरबाही र तीव्र गतिका कारण दुर्घटना बढेको बताइन् । सबैभन्दा बढी ७९५ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् ।
यस अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ५० हजार ४४१ सवारीलाई कारबाही गरिएको छ । यसबाट ६ करोड ८ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन भएको छ, जसमा तीव्र गतिमा सवारी चलाउनेबाट मात्रै ३१ लाख रुपैयाँभन्दा बढी राजस्व उठेको छ ।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले २ हजार २१० वटा सचेतना कार्यक्रम सञ्चालन गरेको छ । साथै, बुटवल–भैरहवा सडक खण्डको सखुवानीमा एएनपीआर क्यामेरासहितको राडरगन जडान गरी तीव्र गतिमा चल्ने सवारीलाई २४ सै घण्टा निगरानी र कारबाही गरिँदै आएको छ । ट्राफिक जरिवानालाई सहज बनाउन डिजिटल भुक्तानी प्रणाली पनि सुरु गरिएको छ ।