काठमाडौं । महिला प्रहरीको क्षमता सबलीकरण र महिलामैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले नेपाल प्रहरीले पहिलोपटक महिला प्रहरी सम्मेलन आयोजना गर्ने भएको छ । देशभरि कार्यरत सबै तहका महिलालाई काठमाडौंमा भेला गरी सम्मेलन आयोजना हुन लागेको हो ।
प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेका अनुसार आगामी ५ र ६ भदौमा महिला प्रहरी सम्मेलनको तयारी भइरहेको छ । आन्तरिक तयारी भइरहेको भए पनि औपचारिक घोषणा भइनसकेको उनले बताए ।
सम्मेलनका लागि अपराध अनुसन्धान विभागका एआइजी राजन अधिकारीको नेतृत्वमा आयोजक समिति गठन गरिएको छ । समितिमा डिआइजी सञ्जीव शर्मा दास, एसएसपीहरू सानुराम भट्टराई, तारादेवी थापा र वसन्त रजौरे र एसपी ऋषिराम कँडेल सदस्य छन् भने एसपी बसुन्धरा खड्कालाई सदस्यसचिव तोकिएको छ । लैंगिक समानता र लैंगिक न्यायलाई मूल प्रवाहीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । देशभरीबाट करिब दुई सय महिला प्रहरी भेला गर्न लागिएको छ । प्रहरी प्रधान कार्यालयभित्रै हुन लागेको सम्मेलनअन्तर्गत अनुभव आदान–प्रदानदेखि प्यानल छलफलसम्मको तयारी छ ।
सम्मेलन आयोजना समितिका संयोजक एआइजी अधिकारीका अनुसार नेपाल प्रहरी लैंगिक नीति ०८१ कार्यान्वयनको क्रममा यो कार्यक्रम गर्न लागिएको हो । नेपाल प्रहरी लैंगिक नीति राष्ट्रियस्तरको महिला प्रहरी सम्मेलन गर्ने उल्लेख छ ।
‘नेपाल प्रहरीमा महिलाहरूको ठुलो योगदान छ, सम्मेलनमार्फत उहाँहरूको भूमिकालाई अझै सबल बनाउने र संगठनले लिएको नीतिलाई प्रभावकारी बनाउन हामीले यो सम्मेलन आयोजना गर्न लागेका हौँ,’ एआइजी अधिकारी भन्छन्, ‘महिलामैत्री सेवाप्रवाह पनि यो सम्मेलनको मुल मुद्दा हो ।’ महिला प्रहरीको क्षमता अभिवृद्धि र उनीहरूले भोगेका समस्या समाधान पनि सम्मेलनको उद्देश्यमा छ ।
नेपालमा ००८ सालदेखि महिला प्रहरी भर्ना भएका हुन् । पहिलो महिला प्रहरी चैत्यमाया डंगोल पनि सम्मेलनमा सहभागी हुनेछिन् । हाल महिला प्रहरीको संख्या १२ प्रतिशत पुगेको छ । बिशिष्ट तहको पदमा दर्जन महिला पुगिसकेका छन् ।
अवकाशप्राप्त महिला प्रहरीको अनुभव सुन्नेदेखि सफल महिलालाई सम्मान गर्नेसम्मका कार्यक्रम सम्मेलनमा राखिएको छ । महिला प्रहरीका समस्या सुन्ने र त्यसलाई समाधानका लागि पनि यो सम्मेलन प्रभावकारी हुने एक प्रहरी अधिकारी बताउँछन् ।