दाङ । भालुवाङ पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ–लमही सडक खण्डमा सडकैभर खाडल परेपछि राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीका स्थानीय युवाहरुले पाखापानी स्थित पवित्रा पेट्रोल पम्प नजिक बीच सकडमै बिरुवा राेपेका हुन् ।
नियमित वर्षाका कारण सडकका खाडलमा पानी भरिएपछि दुर्घटनाको जोखिम बढेको, हिँड्डुल गर्न समस्या भएको स्थानीय पत्रकार बलराम शाहीले बताएका छन् । सडक मर्मत गर्ने कुरामा कसैले ध्यान नदिदा सडक विभागको ध्यान केन्द्रित गर्न बीच सडकमै बिरुवा राेपेकाे शाहीले बताए । सडकै भरि खाडल परेका कारण सवारी दुर्घटना बढेको, धेरैले अकालमा ज्यान गुमाउनु परेको, पैदल यात्रु, साइकल चलाउनेलाई यात्रा गर्न कठिन भएको उनले बताए । राजधानी भएकाे क्षेत्रमा कसैले ध्यान नदिएपछि सबैको ध्यानाकर्षण गराउन बिरुवा बीच सडकमै राेपिएकाे उनले बताए ।
सडकका खाडल पुर्न सम्बन्धित निकायले कुनै चासो नदिएको हुँदा सडक विभाग र राजमार्ग भएर ओहोर दोहोर गर्ने मन्त्री तथा राजनीतिक दलहरुको ध्यान केन्द्रित गर्न स्थानीयले सडकमा बिरुवा राेपेकाे उनले जानकारी दिए । लमही र भालुवाङ बीचको सडकमा अत्याधिक खाल्डाखाल्डी छ । ती खाडलमा बर्षामा पानी जम्मा हुन्छ र सडक क्षमता भन्दा बढी भार बोकेका सवारीले झनै बिगार्ने भएकाले दुर्घटनाको जोखिम बढेको छ ।