काठमाडौं । महाशाखाका अनुसार लुम्बिनी प्रदेशका दाङ, बाँके र बर्दिया कर्णाली प्रदेशका सुर्खेत र दैलेख तथा सुदूरपश्चिम प्रदेशका अछाम, डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुर जिल्लामा बाढीको मध्यम जोखिम छ।
त्यस्तै, कोशी प्रदेशका झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, मोरङ र उदयपुर जिल्ला जोखिम सूचीमा रहेका छन्।
बागमती प्रदेशतर्फ दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, रसुवा, सिन्धुली र मकवानपुरमा समेत बाढीको मध्यम जोखिम देखिएको छ।
बाढीको जोखिम रहेका जिल्लासँगै तटीय क्षेत्र तथा आसपासका खोलानदी किनारमा उच्च सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ।
यससँगै मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
रातिको समयमा मधेश, कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानहरूमा र अन्य प्रदेशका केही भागहरूमा पनि मध्यम वर्षा हुन सक्ने महाशाखाले उल्लेख गरेको छ।
हाल देशभर मनसुन सक्रिय भए पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको महाशाखाले जनाएको छ।