२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

कैलालीमा कारागार भित्र पटकपटक झडप हुँदा व्यवस्थापनमा कमजोरी सिडियो र एसपीलाई कार्वाहीको माग,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, साउन २५, २०८२

कैलाली । केही महिनादेखि शान्ति–सुरक्षाको सट्टा अशान्ति र हिंसाको पर्याय बन्दै आएको जिल्ला कारागार कैलालीमा शुक्रबार राति फेरि रक्तपातमा परिणत भएको छ ।

केही महिना यता दुई समूहबीच चलिरहेको झडपको क्रम शुक्रबार राति हिंसात्मक हुँदा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय कैदी भरत चौधरीको ज्यान गएको हो ।

साथै ४७ जना कैदी घाइते भई सेती प्रादेशिक अस्पतालमा उपचाररत छन् । कैदी भरतको मृत्युले कारागारभित्रको सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न उठाएको छ ।

यस घटनाले प्रमुख जिल्ला अधिकारी (सिडियो) गोगन बहादुर हमाल र जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) बालनरसिंह राणाको भूमिकामाथि प्रश्न उठाएको छ ।

कारागारभित्र बारम्बार हिंसात्मक झडप हुँदा पनि प्रभावकारी कदम चाल्न नसक्दा उनीहरूको नेतृत्वमाथि असफलताको आरोप लागेको छ ।

गत असारमा सिडियो हमालले कारागार निरीक्षणका क्रममा ब्लक ‘ए’ मा मोबाइल फेला पारेपछि सात जना कैदीलाई ब्लक ‘बी’ मा सारिएको थियो । यिनै सरुवाले कैदीहरूबीच गहिरो मनमुटावको हुँदै गएको थियो । असार २८ गतेकै दिन विवाद हिंसात्मक बन्दै कारागारका नाइके खगेन्द्र बोगटी गम्भीर घाइते भएका थिए ।

बोगटीमाथि भूपेन्द्र बडुवाल हत्या प्रकरणमा थुनामा रहेका कैदी कपिल श्रेष्ठ नेतृत्वको समूहले आक्रमण गरेको आरोप लाग्यो। बोगटीले ‘जेलरको मान्छे’ भएको रवाफ देखाएको भन्दै श्रेष्ठ समूह आक्रोशित भएको भनाइ छ। त्यसबेलै कैदीहरूले जेलर बसन्त खत्रीविरुद्ध सिडियो र एसपीकै अगाडि “जेलभित्र मनोमानी बन्द गर” भन्दै नाराबाजी गरेका थिए।

तर, प्रशासन र प्रहरीले घटनालाई सामान्य रुपमा लिए । विरोध र होहल्ला दिनदिनै भइरहे पनि ठोस कदम नचालिँदा कारागारभित्रको तनाव झन् बढ्दै गयो । यही बीचमा जिल्ला प्रशासन कार्यालयले विभिन्न कैदीबन्दीलाई फेरबदल गर्दै अर्को जिल्लासमेत सरुवा गरेको थियो ।

बोगटी कुटिएको एक महिना नपुग्दै बिहीबार साँझ फेरि झडप भयो, जसमा पाँचजना घाइते भए । बडुवाल हत्या अभियोगमा रहेका समूहले पुनः बिनाकारण हमला गरेको आरोप लाग्यो । फेरि त्यसको भोलिपल्ट शुक्रबार राति झडप अझ भयावह बन्यो, जसमा कैदी भरत चौधरीको मृत्यु भयो र ४७ जना घाइते भए ।

घाइतेको उपचार अहिले सेती प्रादेशिक अस्पतालमा भइरहेको छ। अस्पताल परिसर र कारागार वरिपरि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसैगरी, गत असार १ गते बैङ्किङ कसुर अभियोगमा पक्राउ परेका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ निवासी २८ वर्षीय हरिश पालीको पनि कारागारमा शंकास्पद रुपमा मृत्यु भएको थियो ।

उनी असार २ गते राति कारागारको बाथरुम नजिक अचेत अवस्थामा फेला परेका थिए । तर, उपचारको क्रममा सेती प्रादेशिक अस्पताल उनको मृत्यु भएको प्रहरीले जनाएको थियो । उनको कुटपिटबाट हत्या गरेको आरोपमा प्रहरीका एकजना कर्मचारी नै पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

यो निरन्तरको हिंसाले जिल्ला कारागारको सुरक्षा र व्यवस्थापन प्रणालीमा गहिरो प्रश्नचिन्ह खडा गरेको छ। ‘सुरक्षा संवेदनशील स्थल’ मानिने कारागारमै कैदीहरूबीच बारम्बार ज्यानै जानेसम्मको लडाइँ भइरहेको छ ।

त्यसको रोकथाममा जिम्मेवार निकायको असफलता उजागर भएको छ । निरन्तर हुने झडप, गुटबन्दी, हत्या प्रयास र ज्यान जानेसम्मका घटनाले जिल्ला प्रशासन र प्रहरीको कारागार व्यवस्थापनमा असफलता स्पष्ट पारेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]