दाङ । देउखुरी सबैखाले चरा संरक्षणका लागि सबैले वातावरणमैत्री भएर लाग्नुपर्नेमा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवारले जोड दिएका छन् । नेपाल पंक्षी संरक्षण संघले बुधबार बिहान दाङको – देउखुरी, भालुवाङस्थित होटल पौवाको सभाहलमा आयाेजना गरेकाे “दाङ-देउखुरी चुरे वन तथा पश्चिम राप्ती सिमसार क्षेत्रमा आप्रबासी चराहरूकाे संरक्षणका लागि स्थानीय सरकार र समुदायकाे संलग्नता” बिषयक परियाेजनाकाे बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम समारोहमा मन्त्री कलवारले उक्त कुरा बताएका हुन् ।
पछिल्लाे समय रैथाने चराहरू हराउँदै गईरहेकाे दु:खद पक्ष औंल्याउँदै कलवारले आप्रबासी चराहरू आउने गरिरहेकाे अवस्थामा सबै खाले चरा संरक्षणका लागि सबै पक्ष जिम्मेवार बन्न आवश्यक रहेकाे बताए । मन्त्री कलवारले चरा संरक्षणका लागि कुनै एउटा संस्था र सरकारले मात्र चाहेर सम्भव नहुने उल्लेख गर्दै चरा संरक्षणका बिषयमा समुदाय स्तरमा नै व्यापक सचेतना फैलाउन आवश्यक रहेको सबैलाई आग्रह गरे ।
लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव प्रमाेद भट्टराईकाे अध्यक्षता एवम् लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देबकरण कलवारकाे प्रमुख आतिथ्यता भएकाे कार्यक्रममा बाेल्दै मन्त्रालयका सचिव भट्टराईले चरा संरक्षणकाे बिषय निकै संवेदनशिल रहेकाे स्पष्ट पारे । चरा बस्ने वातावरण अनूकुल नभएर नै चराहरू हराउँदै गएको निकै गम्भीर बिषयमाथि भट्टराईले जानकारी गराए । सचिव भट्टराईले चरा संरक्षणका लागि प्रदेश सरकार गम्भीर रहेकाे र आवश्यक बजेट र कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।
प्रदेशकाे वन निर्देशनालयका वन निर्देशक प्रभात सापकाेटाले पनि नेपालमा चरा संरक्षणकाे बिषय सबैका लागि प्राथमिकतामा हुनुपर्ने बताए । चरा संरक्षणका लागि स्थानीय समुदाय, स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारले कार्यक्रम र बजेटकाे व्यवस्था गरेर अभियानका रूपमा लाग्नुपर्ने सापकोटाको बिचार थियो । चरा संरक्षणका बिषयमा वातावरणमैत्री व्यवहार बनाउन सबै पक्ष गम्भीरतापूर्वक लाग्नुपर्नेमा समेत उनको जाेड थियो ।
सोही समारोहमा नेपाल पंक्षी संरक्षण संघका परियाेजना अधिकृत भुपलाल नेपालीले परियाेजना र संस्थाले अहिले सम्म गरिरहेकाे कामकाे बिषयमा बिस्तृत रूपमा अवगत गराएका थिए ।
लाइफ इन्टरनेशनलका काेडिनेटर डा. आनन्द चाैधरीले बसाईसराई भएर आउने चराहरूकाे अवस्था र जैविक विविधता लगायतका बिषयमा प्रस्तुति जाहेर गरेका थिए । “दाङ-देउखुरी चुरे वन तथा पश्चिम राप्ती सिमसार क्षेत्रमा आप्रबासी चराहरूकाे संरक्षणका लागि स्थानीय सरकार र समुदायकाे संलग्नता” बिषयक परियाेजना हाल राप्ती नदीलाई लक्षित गरी दाङ – देउखुरीका राप्ती गाउँपालिका लगायत लमही नगरपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिका गरी देउखुरीका चारैवटा पालिकाहरुमा लागू हुने भएकाे छ ।
सोही परियाेजनाकाे बिषयमा पहिलाे चरणमा वडा स्तरिय, पालिकास्तरिय र प्रदेश स्तरिय सराेकारवालासंंग छलफल तथा अन्तरक्रिया गरिने परियाेजना अधिकृत नेपालीले जानकारी दिए । परियाेजना करिब १० महिनासम्म चल्ने बताइएको छ । उक्त परियाेजनाका लागि करिब १७ लाख बजेट सुनिश्चित पनि गरिएकाे छ । परियाेजनाले राप्ती नदीमा सदाबहार रूपमा रहने चराहरूसंंगै हिउँद माैसममा बिदेशबाट आउने चराहरूकाे पहिचान, चराहरूकाे गणना र चराहरूकाे बासस्थान लगायतका बिषयमा अध्ययन गर्ने बताईएकाे छ ।
कार्यक्रममा डिभिजन वन कार्यालय देउखुरीका प्रमुख महेन्द्रराज वाग्ले, डिभिजन वन कार्यालय दाङका प्रमुख बिसेन्द्रराज सुवेदी, ईएसडी आरसीका अध्यक्ष डिल्लीबहादुर रावत, पत्रकार बिदुर एमसी, स्थानीय पंक्षी संरक्षणकर्मी यमबहादुर राेका र पाटेश्वरी चाैधरी लगायतका वक्ताले आ-आफ्नाे धारणा राखेका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयका प्रतिनिधि, डिभिजन वन अधिकृत, सामुदायिक वन समूहका अगुवाहरू, स्थानीय पंक्षी संरक्षणकर्मी र पत्रकारहरू गरी झण्डै तीन दर्जन बढीकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण पत्रकार सन्ताेषकुमार गुप्ताले गरेका थिए ।