२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

रुपन्देही प्रहरीले ठुलो मात्रामा नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय नागरिक पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, भाद्र ०३, २०८२

रुपन्देही । पक्राउ पर्नेमा भारत, कानपुर नौवस्ति बस्ने २५ वर्षीय अभिषेक यादव रहेका छन् । उनको साथबाट विभिन्न नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली कागजात र ती बनाउन प्रयोग हुने सामग्रीहरू बरामद गरिएको ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बेलहियाको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा यादवलाई भदौ १ गते साँझ साढे बजे पक्राउ गरेको हो । “रुपन्देहीमा अवैध रूपमा नक्कली प्रमाणपत्रको कारोबार भइरहेको सूचना लामो समयदेखि आइरहेको थियो, त्यसैलाई पछ्याइरहेका थियौँ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले भने “सोही क्रममा आइतबार साँझ यादवलाई ठुलो परिमाणको नक्कली प्रमाणपत्र सहित पक्राउ गर्न सफल भयौँ ।”

सिद्धार्थनगर नगरपालिका वडा नम्बर–१ स्थित बेलहिया बसपार्कमा रहेको होटल मुक्तिनाथमा प्रवेश गर्न लाग्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको कार्कीले बताए ।

प्रहरीले यादवको शरीर र उनको सुटकेस खानतलासी गर्दा त्रिभुवन विश्वविद्यालयका १०० वटा ट्रान्सक्रिप्ट र ३६ वटा खाली प्रमाणपत्रहरू फेला पारेको छ । विभिन्न शैक्षिक संस्थाका ३ वटा नक्कली र ५ वटा स्ट्याम्प प्याडहरू, त्रिभुवन विश्वविद्यालयको ४ हजार ४० थान रहेको २१ बन्डल होलो ग्राम, उच्च माध्यमिक शिक्षा परिषद्को २ हजार थान रहेको १९ प्याकेट, राष्ट्रिय परीक्षा बोर्डको १ हजार ७ सय थान रहेको १७ प्याकेट नक्कली होलो ग्राम र स्टिकरहरू प्रहरीले बरामद गरेको छ ।

यसै गरी भारतको एमीटी विश्वविद्यालय (उत्तर प्रदेश) का ८० वटा नक्कली मार्कसिट, ४० वटा प्रोभिजनल सर्टिफिकेट, ६० वटा क्यारेक्टर सर्टिफिकेट र ४९ वटा अन्य खाली प्रमाणपत्रहरू र ४० वटा खाली लोगो फेला परेको छ ।

यस्तै जवाहरलाल नेहरू टेक्निकल युनिवर्सटि हैदराबाद, छत्रपति साहूजी महाराज युनिभर्सिटी, कानपूर, असम उच्च माध्यमिक शिक्षा परिषद्, कुरुक्षेत्र विश्वविद्यालय, आन्ध्र विश्वविद्यालय सहित अवैध कारोबारका लागि प्रयोग भइरहेका विभिन्न विश्वविद्यालय तथा कार्यालयहरूको नाम लेखिएका दर्जनौँ नक्कली स्ट्याम्प र छापहरू, चार वटा पेन ड्राइभ, एक थान एचपी कम्पनीको ल्यापटप, एक थान आई फोन, एक थान रियलमी मोबाइल, तीन वटा एटिएम कार्ड, भारु १८ हजार ५ सय रुपैयाँ र नेपाली ३ हजार २५ रुपैयाँ नगद बरामद गरिएको कार्कीले बताए ।

यो घटनाले नक्कली शैक्षिक प्रमाणपत्रको अवैध कारोबारको गम्भीरतालाई उजागर गरेको छ, जुन शिक्षा क्षेत्रका लागि ठुलो चुनौती हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्री पक्राउ परेको यादव कसैको लागि काम गर्ने कामदार मात्र रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए ।

उनले प्रायजसो विदेश अध्ययन र कामको प्रायोजनको लागि नक्कली प्रमाणपत्र बनाउने गरेको सुरुवाती अनुसन्धानमा खुलेको बताए । “यस बाहेक अन्य प्रयोजनमा पनि यसको प्रयोगलाई नकार्न सकिँदैन ।” उनले भने “हामीले यसको मुख्य मानिस सहित अन्यलाई पहिचान गरेका छौँ, उनीहरू फरार रहेकोले पक्राउ परेपछि थप कुराहरू खुल्नेछ ।”

रुपन्देही जिल्लामा यति ठुलो परिमाणमा नक्कली प्रमाण पत्र फेला परेको यो पहिलो पटक हो । यस विषयमा अनुसन्धान गरी यसको पछाडि जो सुकै रहे पनि त्यसलाई नछोड्ने रुपन्देही प्रमुख प्रदीप बहादुर क्षेत्रीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।