२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपाल पत्रकार महासंघ दाङमा तीज मिलन, चाडपर्वहरूलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड,

Logo
ABC-Sanchar प्रकाशित बुधबार, भाद्र ०४, २०८२

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हाम्रा चाडपर्वहरूलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले चाडपर्वहरू रमाइलो र संस्कृतिको संरक्षणका लागि हो तर अनावश्यक खर्चालु प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पार्ने बताउनुभयो ।

“आजभोलि तीज र अन्य चाडपर्वहरू देखाउनकै लागि मनाउने प्रवृत्ति बढेको छ । यो ठीक होइन । चाडपर्वमा खर्च गर्दा घाँटी हेरेर हाड निल्नुपर्छ । आफ्नो आर्थिक हैसियतअनुसार पर्वलाई रमाइलो बनाउनुपर्छ,” प्रियासनले भन्नुभयो । उहाँले पर्वलाई आडम्बररहित, सरल र सामाजिक सद्भाव बढाउने माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी नेपाल पत्रकार महासङ्घकी केन्द्रीय सदस्य लिला शाहले महिलाहरूका लागि तीजले आत्मबल, उमङ्ग र उत्साह दिने अवसर निर्माण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “तीज केवल गीत–नृत्यमा सीमित छैन । यसले हाम्रो संस्कृतिको संरक्षण गर्ने र महिलाबीच आपसी सन्देश प्रवाह गर्ने काम गर्छ । तर यो पर्वलाई व्यावसायिकता र खर्चिलो प्रतिस्पर्धामा जकडिन दिनु हुँदैन ।”

नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश महासचिव पाण्डव शर्माले पर्वले ल्याउने सामाजिक एकताको पक्षमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “पर्व भनेको सबै मिलेर मनाउने साझा खुशी हो । यसलाई खर्चिलो बनाउने होइन, सामाजिक सौहार्द र परिवारमा खुसी ल्याउने माध्यम बनाउनुपर्छ । पत्रकार महासङ्घजस्तो संस्था महिला विभागमार्फत यस्तो कार्यक्रम गर्दै संस्कृतिको जगेर्ना गर्न लागेको देख्दा खुसी लागेको छ ।”

नेपाल पत्रकार महासङ्घ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले तीज मिलन जस्ता कार्यक्रमले पत्रकारबीचको आत्मीय सम्बन्ध बलियो हुने बताउनुभयो । उहाँले भन्नुभयो, “पत्रकार महासङ्घले केवल पेशागत अधिकारका लागि मात्र होइन, सामाजिक र सांस्कृतिक क्षेत्रको संरक्षणका लागि पनि जिम्मेवारी बहन गर्नुपर्छ । महिला विभागले आयोजना गरेको यो कार्यक्रमले दाङ जिल्लामा महिला पत्रकारहरूको सक्रियता र सहभागिता झल्काउँछ ।”

नेपाल प्रेस युनियनकी केन्द्रीय उपमहासचिव सुलोचना पोख्रेलले तीजलाई महिला सशक्तीकरणसँग जोडेर बुझ्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “तीज महिलाहरूको साझा उत्सव हो । यसमा महिलाहरूले आफ्ना समस्या, सपना र संघर्षलाई गीतमार्फत अभिव्यक्त गर्ने अवसर पाउँछन् । यसलाई केवल भोज, महंगा लुगाफाटा र बाह्य प्रदर्शनमा सीमित पार्दा यसको वास्तविक मूल्य घट्छ ।”

प्रेस सेन्टरकी केन्द्रीय उपमहासचिव लक्ष्मी आचार्यले तीज जस्ता पर्वले महिला पत्रकारहरूको हौंसला बढाउने बताउनुभयो । उहाँका अनुसार, “पत्रकार महिलाहरूले पेशागत दायित्वसँगै संस्कृतिको जगेर्नामा पनि सक्रिय हुनुपर्छ । आजको कार्यक्रममा देखिएको उत्साहले आगामी दिनमा महिला विभागलाई अझ सबल बनाउन सहयोग पुग्नेछ ।”

क्रान्तिकारी पत्रकार संगठनकी केन्द्रीय सदस्य सुशीला आचार्यले तीजले वर्गीय र सामाजिक समानता स्थापना गर्न सन्देश दिने बताउनुभयो । उहाँले भन्नुभयो, “तीज केवल एक समूह वा समुदायको पर्व होइन, यो सबै महिलाको साझा पर्व हो । यसले परम्परागत संस्कारसँगै आधुनिक चेतना फैलाउन मद्दत गर्छ । त्यसैले यसलाई सामाजिक रुपान्तरणको अभियानसँग जोड्न सकिन्छ ।”

प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य सुदर्शन रिजाले तीज मिलनजस्ता कार्यक्रमले पत्रकारबीच आपसी सम्बन्ध र समझदारी बलियो हुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “पत्रकारहरूले केवल कलम चलाउने मात्र होइन, सामाजिक संस्कृति र परम्परालाई जोगाउने जिम्मेवारी पनि लिनुपर्छ । यस्तो अवसरमा भेटघाट, छलफल र रमाइलो गरेर पेशागत जीवनलाई अझ सशक्त बनाउन सकिन्छ ।”

कार्यक्रममा महिला विभाग प्रमुख एवं महासङ्घ दाङ शाखाकी उपाध्यक्ष नारायण रजौरेले अध्यक्षता गर्नुभएको थियो । स्वागत मन्तव्य सरिता चौधरीले गर्नुभएको र सञ्चालन रमा नेपालीले गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न पत्रकार संघ–संगठनका प्रतिनिधिहरू, महिला पत्रकार तथा दाङ जिल्लाका सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति थियो । सहभागीहरूले तीज गीत गाएर, नाचगान गर्दै र आपसी आत्मीयता बाँडेर कार्यक्रमलाई उत्साहपूर्ण बनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]