विभिन्न १६ वटा डेरी उद्योगहरुमा अनुगमन गरी पसलहरुबाट दुधको नमुना संकलन गरि गुणस्तर परिक्षण
दाङ । घोराही उपमहानगरपालिकाको संयुक्त बजार अनुगमन टोलीले मिति २०८२/०५/०५ र ५/०६ गते घोराहीका वडा नम्बर १४ र १५ का विभिन्न १६ वटा डेरी उद्योगहरुमा अनुगमन गरी ती डेरी पसलहरुबाट दुधको नमुना संकलन गरि तिनको गुणस्तर परिक्षण गरेको छ । सो क्रममा नेपाल सरकारले तोकेको दुधको गुणस्तर मापदण्ड बमोजिम अधिकाम्श डेरीका दुधमा चाहिने मात्रामा हुनुपर्ने Fat र SNF नपुगेको देखिएको छ । सो क्रममा कपिलवस्तुवाट घोराहीमा भित्रीएको ट्याङ्करको दुधको पनि सो ट्याङ्करलाई नगरमै बोलाएर नमुना संकलन गरी दुधको परिक्षण गरिएको छ । यस परिक्षणबाट प्राप्त रिपोर्टका आधारमा न्यून गुणस्तरवाला दुध बिक्रीवितरण गर्ने डेरी उद्योग तथा पसलहरुलाई बजार ब्यबस्थापन समितिको बैठकबाट नियमानुसार कार्वाही प्रक्रिया अगाडि बढाइनेछ । उक्त अनुगमन घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय दाङ , खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, वडा नम्बर १४ र १५ का वडा अध्यक्ष ज्युहरु , उद्योग वाणिज्य संघ दाङ, वडा प्रहरी कार्यालय , पत्रकार महासंघ दाङ, घोराही उपमहानगरपालिका पशु सेवा शाखा , डेरी व्यवसायी संघ दाङ, घोराही उपमहानगरपालिका को नगर प्रहरी लगायत विभिन्न नियमनकारी निकायहरुको उपस्थितिमा भएको थियो ।
तीज पर्व नजिकिदै गर्दा दूध तथा दुग्धजन्य पदार्थहरुको खपत बढ्ने र आम उपभोक्तालाई स्वस्थ र स्वच्छ दुध उपलब्धताका लागि यो अनुगमन गरिएको हो । अनुगमनका क्रममा डेरी ब्यबसायहरुमा देखिएका अन्य सरसफाइ लगायतका कमिकमजोरीहरुलाई सुधार्न ७ दिनको म्याद दिइएको छ । तत्पश्चात निर्देशन पालना नगरेमा नियमानुसार कार्वाही गरिने कुराको जानकारी सम्पुर्ण डेरी ब्यबसायी एवम् आम उपभोक्ता सचेतताका लागि हार्दिक अपील गरिन्छ ।