पर्सा । बिरगंज सङ्घीय खानेपानी मन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई मोबाइलमा फोन गर्दै ज्यान मार्ने धम्की दिँदै अपशब्द बोलेको आरोपमा पर्सा प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएको छ ।
शनिवार बाराको कलैया उपमहानगरपालिका – २६ सिसुवा महेशपुर घर भई हाल वीरगञ्ज महानगरपालिका १३ मुर्ली बस्दै आएकी तुलसी साहकी छोरीकी छोरी किरण साहलाई जिल्ला प्रहरी कार्यालय पर्सामा सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।
पर्सा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालका अनुसार मन्त्री यादव र प्रमुख सिंहले युवतीले आफूहरूलाई ज्यान मार्ने धम्की दिएको भन्दै गरेको गुनासोको आधारमा साहलाई नियन्त्रणमा लिइएको हो । उनीसँग अहिले सोधपुछ चलिरहेको उनले जानकारी दिए ।
वीरगञ्जमा फैलिएको हैजा सङ्क्रमणका कारण किरण साहका परिवारका सदस्यहरू अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका थिए । सोही विषयमा असन्तुष्टि व्यक्त गर्ने क्रममा फोन वार्तामा धम्कीजनक अभिव्यक्ति आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
यसैबिच, मन्त्री यादवसँग किरण साहबिच भएको अभद्र संवादको अडियो क्लिप सामाजिक सञ्जाल फेसबुकमा शुक्रवारदेखि भाइरल बनेको छ ।