काठमाडौँ । सशस्त्र द्वन्द्वमा तत्कालीन विद्रोही माओवादीले राजधानीमा धावा बोलेको सङ्केत दिनेगरी उपत्यका प्रवेश गर्ने नाका थानकोटमा आक्रमण गरेको थियो ।
२०६२ माघ १ मा थानकोट स्थित सुरक्षा जाँच चौकीमा डीएसपी महेश कुमार रावल सहित ११ जना प्रहरी कर्मचारीको मृत्यु भएको थियो ।
तत्कालीन विद्रोहीको आक्रमणमा परेको थानकोटमा नयाँ प्रहरी कार्यालय भवन निर्माण भएको छ । त्यसवेलाको ‘सुरक्षा प्रहरी जाँच चौकी’ हाल प्रहरी वृत्त थानकोटमा परिवर्तन भएको छ । प्रहरी वृत्त थानकोटको नेतृत्व डीएसपी एलिजा गिरीले गरेकी छन् ।
सोमबार उपत्यका प्रहरी कार्यालयका एआईजी टेक बहादुर तामाङले नवनिर्मित प्रहरी वृत्त थानकोटको उद्घाटन गरे ।
त्यसवेला आफू वडा प्रहरी कार्यालय सोह्रखुट्टेमा कार्यरत रहेको उल्लेख गर्दै एआईजी तामाङले उपत्यकामा तत्कालीन विद्रोहीले गरेको आक्रमण सम्झिँदै भने, ‘म इन्स्पेक्टर थिएँ, त्यसवेला हामी थानकोट सम्म आउने अवस्था भएन ।’
६ करोड ७१ लाखमा निर्माण सम्पन्न भएको वृत्त थानकोटको कार्यालय र ब्यारेक भवन ४ तलाको छ । किराँतेश्वर कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको भवन ५ वर्षमा पुरा भएको हो ।
भवन उद्घाटन गर्दै एआईजी तामाङले अनुसन्धानमा प्रविधिको प्रयोग अपरिहार्य भएको बताए । उनले भने, ‘विश्वस्तरको प्रविधि प्रयोग गरेर अपराध अनुसन्धान गर्ने हाम्रो योजना छ ।’
चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले २०६२ को आक्रमण सम्झिँदै भने, ‘विगतको आरोह–अवरोह भोगेर हामी अहिलेको अवस्थामा आएका छौँ ।’
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले लामो प्रतीक्षापछि थानकोट प्रहरी त्रिभुवन पार्कबाट नयाँ आधुनिक भवनमा बस्न थालेको बताए ।
उनले भने, ‘भूकम्पपछि प्रहरी वृत्त थानकोटले पार्कमा बसेर नागरिकको सुरक्षामा काम गरेको थियो ।’
भवन उद्घाटन कार्यक्रममा उपत्यका प्रहरी कार्यालयमा डीआईजी ओम राना, चन्द्रागिरीकी उपमेयर बसन्ती श्रेष्ठ, उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसएसपी नवराज अधिकारी, उपत्यका प्रहरी कार्यालयका एसपी काजी कुमार आचार्य र प्रहरी प्रधान कार्यालयका डीएसपी शंकर खड्का सहितका अधिकारीहरू उपस्थित थिए ।
अमर प्रहरीको सम्झनामा धारो निर्माण
२०६२ माघ १ मा सुरक्षा प्रहरी जाँच चौकी थानकोटको परिसरमा ११ जना प्रहरीले ज्यान गुमाएका थिए ।
डीएसपी महेश कुमार रावल, इन्स्पेक्टरद्वय रत्न बहादुर सुवेदी र प्रकाश केसी, हवल्दारहरु डिकेन्द्र कुमाल, सुर्यमान तामाङ, दिपेन्द्र निरौला, रविन कुमार कार्की, सई यादव राज केसी, हवल्दार मिठ्ठु राम कार्की, हवल्दार ईश्वरी दाहाल र हवल्दार बाबुराम अधिकारीले कार्यालय परिसरमा ज्यान गुमाएका हुन् ।
अमर प्रहरीहरूको सम्झनामा प्रहरी वृत्त थानकोटकी डीएसपी एलिजा गिरीले कार्यालय परिसरमा परम्परागत धारो निर्माण गरेकी छन् ।
एआईजी तामाङले अमर प्रहरीको सम्झनामा निर्माण गरिएको धारो उद्घाटन गर्दै भने, ‘डीएसपी गिरीले अमर प्रहरीको सम्झनामा धारा निर्माण गरेर इनोभेटिभ काम गर्नुभएको छ ।’