काठमाडौं । दिनभर सडक र पुल निर्माणमा पसिना बगाउने सिन्धुलीका ३७ वर्षीय खिलबहादुर भुजेल अहिले लौरोको सहाराबिना हिँड्न सक्दैनन् । ढुंगा, गिटी, बालुवा बोकेर जीवन निर्वाह गर्दै आएका भुजेललाई प्रलोभनमा पारी मिर्गौला निकालिएको छ ।
‘होटलमा सजिलो काम पाइने भन्दै भारत पुर्याएका मान्छेले नै मेरो मिर्गौला झिक्दिए,’ भुजेलले भने, ‘६ लाख दिन्छु भन्नेका थिए । हालसम्म लागेको सम्पूर्ण खर्च बेहोर्नुपर्ने भनी डर त्रास, करकापमा पारी चण्डीगढस्थित नाम नखुलेको क्लिनिकमा मसहित ५ जनाको मिर्गौला झिकियो । मिर्गौला निकालिसकेपछि नेपाल फर्कने बेलामा पैसा दिन्छु भनी प्रलोभन देखाए पनि मलाई पैसा दिएनन् ।’
उनका अनुसार साउन ९ गते मिर्गौला झिकिएको थियो । भुजेलले भारतको होटलमा काम गर्दा मासिक भारु १० देखि २० हजारसम्म कमाइ हुन्छ भन्ने प्रलोभन देखाई कोटेश्वरबाट कलंकी हुँदै सुनौली सीमा पार गराई भारतको चण्डीगढस्थित अपार्टमेन्टमा पुर्याएको
प्रहरीलाई बताएका छन् ।
तर यो व्यक्तिगत घटना मात्र होइन । मानव बेचबिखन अनुसन्धान ब्युरोको तथ्यांकले भुजेलजस्तै नेपालका धेरै नागरिक यस्तै प्रलोभनमा परेका छन् । साउन महिनामा अवैध अंग प्रत्यारोपन मुद्दामा ब्युरोमा ४ जनाको मुद्दा दर्ता भएको थियो । साउन २२ र २३ मा एकएक र २७ गते दुईवटा मुद्दा दर्ता भएको ब्युरोका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुवरले जानकारी दिए ।