१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

नवलपरासी भन्सार कार्यालय र पशु चिकित्सक सेटिङम विभिन्न जिल्लामा पशुचौपायाको ओसार पसार,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, भाद्र २१, २०८२

नवलपरासी । नियमविपरीत कागजपत्र तयार गरेर त्यसरी ओसारपसार हुने गरेको तथ्य फेला परेको छ।

विभिन्न समयमा राँगा, भैंसी र खसी बोकाको नियमविपरीत कागज पत्र तयार गरेर पशुचौपायाको ओसार पसार हुने गरेको बताइरहँदा पछिल्लो समय त्यसको तथ्य बाहिर आएको हो। बिहीबार साँझ प्रहरीले बरामद गरेका खसी बोकालाई पशु चिकित्सकले खसी बोकाको स्वास्थ्य परीक्षण बिना प्रमाण पत्र जारी गरेको र भन्सार कार्यालयले स्वास्थ्य जाँचको प्रमाण बिना लिलाम गरेको पाइएपछि त्यस्तो तथ्य बाहिर आएको हो।

प्रहरीले जिल्लाको सीमावर्ती क्षेत्र सुस्ता गाउँपालिका–२ महलबारीबाट पिकअप भेनमा ल्याउँदै गरेको ३२ ( ३३ मा १ मरेको) खसी बोका बरामद गरेको थियो। प्रहरीले उक्त खसी बोकासहित दुई जनालाई नियन्त्रणमा लिई  भन्सार बुझाएको थियो। उक्त खसी बोका भारतबाट ल्याएर काठमाडौं पठाउन लागिएको बताइएको छ। शंकास्पद देखेपछि प्रहरीले चेकजाँच गर्ने क्रममा भिसिटिएसमा उल्लेख भएको परिणाम र पठाउने स्थानसहितका प्रमाणमा फरक देखेपछि प्रहरीले बरामद गरी भन्सार पठाएको हो।

यस्ता छन् शंकास्पद प्रमाण

उक्त खसी बोका ललितपुर शंखादेवी नगरपालिका–८ महालक्ष्मीस्थित गणेश कृषि तथा पशुपक्षी फर्ममा पठाउन लागिएको विभिन्न बिल र प्रमाणपत्रहरूमा उल्लेख छ। बिल र अन्य प्रमाणमा ४० वटा खसी बोका उल्लेख छ। तर प्रहरीले पिकअप भेनमा मरेकोशीहत ३३ वटा बरामद गरेको छ।

भिसिटिएसमा पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका– ३ स्थित उषा सप्लायर्सबाट खसी बोका ललितपुर पठाइने उल्लेख छ। सोही खसी बोकाको भेटेरिनरी प्रमाण (स्वास्थ्य जाँच प्रमाण पत्र) मा भने पठाउने फर्मको नाउँमा पूर्वी नवलपरासी विनयी–त्रिवेणी गाउँपालिका–६ का किसानहरूबाट खरिद गरी ललितपुर पठाउन लागिएको उल्लेख छ। भेटेरिनरी प्रमाण पत्रमा पश्चिम नवलपरासी बर्दघाट १० का पशु चिकित्सक डाक्टर विवेक थापा मगरको हस्ताक्षर छ।
त्यस्तै सोही खसी बोका त्रिवेणी क्षेत्रबाट खरिद गरेको भन्दै पूर्वी नवलपरासीको विनयी–त्रिवेणी गाउँपालिकाले ललितपुरस्थित उक्त फर्मले माग गरेका आधारमा सिफारिस दिएको छ। यसरी एउटै सप्लायर्सलाई दुई वटा फर्मबाट पठाउन लागिएको उल्लेख छ।

हेर्दै नहरी भेटेरिनरी प्रमाण पत्र
पशुचौपायाको स्वास्थ्य परीक्षणको प्रमाण पत्र सम्बन्धित पशु चिकित्सकहरूले हेर्दै नहेरी दिने पाइएको छ। उक्त प्रमाण पत्र पनि पशु चिकित्सक थापा मगरले खसी बोका हेर्दै नहेरी गाउँपालिकाको सिफारिसका आधारमा दिइएको पाइएको छ। जसका कारण ३२ वटा खसी बोकालाई ४० वटा भनेर प्रमाण पत्रमा हस्ताक्षर गरेर दिइएको छ। अरू कसैले भनेका आधारलाई विश्वास गरेर प्रमाण पत्र दिएको डाक्टर थापा मगरले पनि स्वीकार गरेका छन्। ‘मैले सुस्तामा रहनु भएका पशु चिकित्सक देवेन्द्र घिमिरेले भनेर दिएको हुँ। उहाँले मैले हेरेको छु। ठीक छ भनेपछि प्रमाण पत्र जारी गरेको हुँ’, थापा मगरले भने।

सुस्ता गाउँपालिकाको पशु सेवा शाखामा कार्यरत रही हाल सुर्खेतको गुर्वाकोट नगरपालिकामा सरुवा भएका घिमिरेले आफूले सहजीकरण मात्र गरेको बताए। ‘गाउँपालिकाको सिफारिस लिएर म कहाँ आउनु भएको थियो। थापा सरलाई फोन गरेर गाउँपालिकाको सिफारिस दिएर पठाएका हुँ। अरू मलाई थाहा भएन’, उनले भने।

पशुचौपायाको स्वास्थ्य परीक्षण बिना भेटेरिनरी प्रमाणपत्र जारी गर्ने यो पहिलो घटना होइन। यसअघि पनि राँगा, भैंसी, खसी बोकालाई पनि पशु चिकित्सकको अनुपस्थित बिना प्रमाणपत्र जारी गर्ने गरेको पाइँदै आइएको छ। पशु चिकित्सकले आफू निकट व्यक्तिलाई प्रमाण पत्रमा हस्ताक्षर गरेर छाड्ने र रकम लिएर प्रमाण पत्र दिइने गरिएको छ।

स्वास्थ्य परीक्षण बिना खसी बोका लिलाम
प्रहरीले खसी बोका र पिकअप भेनको १२ लाख ८० हजार कायम गरेको प्रतिवेदनसहित कारोबारमा संलग्न व्यक्तिलाई शुक्रबार भन्सार पठाएको थियो। प्रतिवेदनमा खसी बोकाको ४ लाख ८० हजार र पिकअप भेनको ८ लाख कायम गरिएको छ।

खसी बोकासहित प्रहरीले कारोबारमा संलग्न भन्दै सवारी चालक पूर्वी नवलपरासी विनयी–त्रिवेणी गाउँपालिका–२ का विश्वास परियार र मालवस्तु (खसी बोका)का धनी पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका–९ का दीपेश ठाकुरलाई समेत भन्सार पठाएको थियो। जसमध्ये सवारी चालकले ५० हजार बुझाएर छुटेका छन्। मालवस्तुका धनी ठाकुरले बिगो बराबरको रकम बुझाउन नसकेपछि प्रहरी हिरासतमै रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी विरदत्त पन्तले जानकारी दिए। भन्सारले उक्त खसी बोका २ लाख ८० हजारमा लिलाम गरेको छ।

स्वास्थ्य जाँचको प्रमाण अनिवार्य

पशुचौपायलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा स्वास्थ्य परीक्षण अनिवार्य छ। पशु ढुवानी मापदण्ड २०६४ र पशु सेवा तथा पशु स्वास्थ्य ऐन २०५६ अनुसार एक जिल्लाबाट अर्को जिल्लामा लैजाँदा पशुचौपायाको स्वास्थ्य प्रमाण आवश्यक रहेको उल्लेख छ। त्यसैगरी बाह्य देशबाट नेपाल भित्रिँदा क्वारेन्टाइन गर्नुपर्ने ऐनमा उल्लेख छ। तर, भन्सार कार्यालयले भने उक्त खसी बोकाको स्वास्थ्य परीक्षण बिना नै लिलाम गरेको हो। एक जिल्लाबाट अर्को जिल्लामा पठाउँदा पशुचौपायाको स्वास्थ्य प्रमाण आवश्यक रहेको पशु क्वारेन्टाइन कार्यालय रुपन्देही भैरहवाका प्रमुख एवं वरिष्ठ पशु चिकित्सक भक्त न्यूरेले बताए। ‘एक जिल्लाबाट अर्को जिल्लामा लैजाँदा त्यहाँका पशुमा रोग नसरोस् भनेर स्वास्थ्य परीक्षण गर्ने हो। भन्सारले परीक्षण नगरी उक्त खसी बोका लिलाम गरेर पठाउँदा अन्य जिल्लामा रोग सरे हामीले जवाफ दिनुपर्छ’, न्यूरेले भने। स्वास्थ्य परीक्षण गर्दा पशु चिकित्सकले पशुचौपायालाई हेरेरै गर्नुपर्छ।

उक्त खसी बोकाको स्वास्थ्य परीक्षणका लागि कार्यालयलाई कुनै जानकारी नदिएको न्यूरेले  बताए। भन्सार कार्यालयकै छेउमा पशु क्वारेन्टाइन चेक पोस्ट छ। ‘नजिकै हाम्रो कार्यालय छ। त्यहाँबाट कोही पनि पशु चिकित्सकले भन्सारले लिलाम गरेको खसी बोकाको स्वास्थ्य जाँच प्रमाण दिएका छैनन्’, न्यूरेले भने।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

दाङ । नेपाल पत्रकार महासंघले जारी राखेको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबार नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासङ्घले सरकारले विज्ञापन सम्बन्धी विभेदकारी निर्णय गरेको भन्दै यस्तो निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्दै नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनको नेतृत्वमा पत्रकार महासंघ […]

error: Content is protected !!